खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा बाली उपचार शिबिर सञ्चालन गरिएको छ । विभिन्न अन्नवालीमा लाग्ने रोग तथा किरा नियन्त्रणमा किसानलाई सहयोग गर्नका लागि नगर कृषि शाखा र वडा कार्यालय बुईपाको सहयोगमा कृषि ज्ञान केन्द्रले एक दिने बाली उपचार शिविर सञ्चालन गरेको हो ।
बाली उपचार शिविरमा किसानले ल्याएका तरकारी, फलफुल, खाद्यान्न, तेलहन÷दलहन तथा नगदे बालीको नमूना परिक्षण गर्नुका साथै उपचार विधिका बारेमा किसानलाई जानकारी दिइएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए ।

बाली उपचार शिविरमा विभिन्न टोलका ६२ किसानले ल्याएका धान, कोदो, सुन्तला, कागती, अमिलो, केरा, लिची, अलैंची, गोलबेँडा, सिमी, भान्टा, काउली, खुर्सानी लगायतका ६९ वटा नमूनाको परीक्षण गर्नुका साथै रोग तथा किराको उपचार विधिका बारेमा किसानलाई मौखिक तथा लिखितरुपमा परामर्श प्रदान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
रोग तथा किरा लागेका बाली तथा बोटबिरुवाको नमूनालाई प्लान्ट डाक्टरको तालिम लिएका ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामनन्द यादव र निमित्त प्रमुख राईले प्राविधिकले परीक्षण गर्दै किसानलाई आवश्यक परामर्श दिइएको छ ।
‘नमूना परिक्षणकाक्रममा कुन वाली कति क्षेत्रमा लगाएको, रोग कहिले सुरु भएको, रोगले केमा अशर गरेको, हाल बिरुवाको अवस्था के छ भन्ने सोधपुछ गरिन्छ,’ ज्ञान केन्द्रका निमित्त प्रमुख राईले भने, ‘परिक्षणकाक्रममा बालीनालीमा रोग लागेको हो वा किरा लागेको पत्ता लगाएर त्यसको उपचार गर्ने विधिका बारेमा किसानलाई मौखिक र लिखित रुपमा परामर्श दिइएको छ ।’
किसानलाई एजाडिराक्टिङ नामक किटनाशक विषादि समेत प्रदान गरिएको छ । शिविरमा हाल किसानको खेत र बारी लगाइएका सबै खालका अन्नबाली, सागसव्जी, फलफुल बोटबिरुवा र अन्य वनस्पतीको नमूना परीक्षण एबं उपचार गरिएको वडाध्यक्ष दिनेश राईले बताए ।
वडाध्यक्ष राईका अनुसार नगरपालिकामा ‘अर्गानिक’ अभियान चलिरहेकाले शिबिरमा आएका किसानलाई जैविक विधिलाई प्राथमिकता दिएर वालीनालीको उपचार गर्नका लागि सुझाव दिइएको छ ।