खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सुन्तला ब्लक विस्तार कार्यक्रमको जिम्मा लिएका सुन्तला ब्लक विकास समितिका अध्यक्ष र सचिवले योजना सञ्चालनकाक्रममा आर्थिक अनियमितता नभएको दावी गरेका छन् ।
कृषि ज्ञान केन्द्रमार्फत दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा सुन्तला ब्लक बिस्तार गर्नेक्रममा आर्थिक हिनामिना गरेको आरोप लागेका सुन्तला ब्लक विकास समितिका अध्यक्ष लक्ष्मीकुमार राई र सचिव मनोज राईले शनिबार साँझ पत्रकार सम्मेलन गर्दै राजनैतिक प्रतिशोधका आधारमा आफुहरुमाथि आधारहिन आरोप लगाइएको दावी गरेका हुन् ।
तीन वडालाई समेटेर सुन्तला ब्लक क्षेत्र विस्तारका लागि आर्थिक वर्ष २०७६/०७७ मा कृषि ज्ञान केन्द्रले उपलव्ध गराएको ३५ लाख बजेटमध्ये समितिका अध्यक्ष र सचिवमाथि १२ लाख हिनामिना गरेको आरोप लागेको थियो । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कृषि ज्ञान केन्द्रमार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ३५ लाख र कृषकको ३५ लाख गरि ७० लाखमा सुन्तला ब्लक विकास कार्यक्रम लागु गरिएको थियो ।
कार्ययोजनामा उल्लेख भए अनुशार सुन्तलाको बिरुवा खरिद, पाइप, पोखरी निर्माणका लागि प्लाष्टिक, स्प्रेयर, हजारी, सिकेचर, हातेआरी, बोर्डो मिश्रण लगायतका सामग्री खरिद गरेर १३ वटा कृषक समुहलाई वितरण गरिसकिएको सुन्तला ब्लक विकास समितिका अध्यक्ष राईले बताए । उनले पोखरी खन्ने ज्याला, मल खरिद तथा ढुवानी र वितरण समेत गरिसकिएको अवस्थामा आधारहिन आरोप लगाइएको दावी गरेका छन् ।
गत असोज १३ गते गुरुङडाँडामा भएको छलफलमा गरिएको प्रतिवद्धता अनुशार शुक्रबार १० लाख ८८ हजार १५० रुपैयाँ रकम कृषक समुहलाई वितरण गरेको समितिका अध्यक्ष र सचिवले भोलीपल्ट दिक्तेलमा आएका पत्रकार सम्मेलन गरेका हुन् । समितिका अध्यक्ष राईले भने सुन्तला ब्लकको बजेटमा अनियमितता गरेको नभइ कोभिड–१९ का कारण किसानलाई बेलामा रकम वितरण गर्न नसकिएको बताएका छन् ।
तीन वडाका १५ कृषक समुहलाई रकम वितरण गरेको समितिले केही किसानलाई १ हजार ५४७ बोट सुन्तलाको प्रतिबोट ७० रुपैयाँका दरले मल उपलव्ध गराउने भएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
‘रकम कहिले निकासा भयो, कति निकासा भयो भन्ने विषयमा समितिकै मान्छे अनविज्ञ देखियो । अनि यत्रो समयसम्म किसानलाई रकम नदिनुको नियत राम्रो देखिएन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘ढिलै भए पनि किसानको हातमा रकम पुगेको छ । केही किसानलाई मल वितरण गर्ने कुरा भएको छ । यस्ता अन्य अनियमितताका विषय पनि उजागर गर्ने तयारी गरिरहेका छौँ ।’
ज्ञान केन्द्रबाट प्राप्त हुने कुल बजेट ३५ लाखमध्ये निकासा भएको २८ लाख ४ हजारभित्र सुन्तला ब्लक विकास समितिका अध्यक्ष र सचिवले अनियमितता गरेको दाबी गरिएको थियो । ज्ञान केन्द्रबाट गत असार ३१ गते बजेट निकासा भए पनि मल खरिद तथा सुन्तला रोप्नका लागि खाल्डो खनेका किसानले हालसम्म रकम नपाएपछि सुन्तला ब्लक सञ्चालन समितिका अध्यक्ष र सचिवमाथि आर्थिक अनियमितताको प्रश्न उठाइएको थियो ।
समितिका अनुशार सुन्तला ब्लक विकास कार्यक्रम सञ्चालनकाक्रममा किसानले ५० प्रतिशत लागत सहभागीता वापतको रकम बेहोरेका छैनन् । श्रमदानमा खाल्डो खनाएर त्यही ५० प्रतिशत लागत सहभागीता पुर्ती गरिएको समितिका अध्यक्ष राईले बताए । सुन्तला ब्लक विस्तारका लागि तीन वडाका कृषि समुहलाई समेटेर सञ्चालन समिति बनाइएको थियो । आयोजनाका बारेमा अन्यौलता झल्काउने गरी अफवाह फैलाइएको सचिव राईले बताए ।
सुन्तला ब्लक विस्तारकाक्रममा कृषि ज्ञान केन्द्रले अन्तिम अनुगमन प्रतिबेदनभन्दा केही बढि रकम निकासा दिएको पाइएको गाउँपालिकाले जनाएको छ । गत असार १४ र १५ गते अन्तिम अनुगमन गरेको गाउँपालिकाले रकम निकासाका लागि असार १७ गते सिफारिस दिएको थियो ।
सो अन्तिम अनुगमनमा कुल ७० लाखमध्ये ५५ लाख ९२ हजार बराबरको काम भएको मूल्यांकनका आधारमा २७ लाख ९६ हजार निकासाका लागि सिफारिस दिइएकोमा ज्ञान केन्द्रले २८ लाख ४ हजार निकासा दिएको जनाइएको छ ।
कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७६/०७७ मा उपलव्ध गराएको बजेटबाट याम्खामा सञ्चालन गरिएको नमूना कृषि फर्म स्थापना सहयोग कार्यक्रममा योजनामा सम्पन्न नभै भुक्तानी दिएको र अन्तिम अनुगमन प्रतिबेदनभन्दा बढि रकम भुक्तानी दिएको पाइएको गाउँपालिका अध्यक्ष राईले बताए । यसले अन्य स्थानीय तहमा सञ्चालन भइरहेको योजनाको पारदर्शीतामाथि पनि प्रश्न उठाएको छ ।