खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा महिला कृषि सहकारी स्थापना गरिएको छ । नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियान अन्तरगत मंगलटारमा ५० जना महिलालाई समेटेर मंगलटार महिला कृषि सहकारी स्थापना गरिएको हो ।
महिला लक्षित कृषि सहकारी शुक्रबार हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले सहकारीमा आवद्ध महिलालाई बचतबुक हस्तान्तरण गर्दैै शुभारम्भ गरेकी छन् ।

कृषिजन्य उत्पादनको व्यवसायीकरण एबं बजारीकरण गर्दै गाउँका महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यकासाथ वडामा महिला कृषि सहकारी स्थापना गरिएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए । आयआर्जनका लागि मंगलटारका कृषि सहकारीमा आवद्ध महिलालाई बाख्रा, बंगुर लगायतका पशुपालनमा प्रोत्साहित गरिने नगरपालिकाले जनाएको छ ।
कृषि सहकारीमार्फत महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाको निती अनुशार नै हरेक वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइएको हो ।
कृषि सहकारीको माध्यमबाट महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने तथा ऋणका लागि चर्को व्याज असुल गर्ने विभिन्न वित्तीय संस्थालाई गुहार्नु पर्ने वाध्यताबाट महिलालाई मुक्ति दिलाउने लक्ष्य राखिएको उपप्रमुख राईले बताईन् ।
नगरपालिकाका ११ वडामध्ये हालसम्म हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा मखमली बचत तथा ऋण सहकारी, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान महिला कृषि सहकारी स्थापना गरिसकिएको उपप्रमुख राईले बताईन् ।
हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेको दुधकोसी महिला कृषि सहकारी भने स्थानीय तह कार्यान्वयनमा आउन अगाडि महिला बिकास कार्यालयको पहलमा स्थापना गरिएको हो । अन्य वडामा पनि क्रमशः महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइसकिएको छ ।