खोटाङ । कोरोना भाइरसको महामारीका कारण विदेशमा रोजगारी गुमाएर घर फर्किएका युवाहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि सामग्री वितरण गरेको छ ।
रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएपछि रोजगारी गुमाएर बैदेशिक रोजगारबाट घर फर्केका युवाहरुलाई कृषि व्यवसाय लागि नगरपालिकाले कृषि सामग्री वितरण गरेको हो ।
वेरोजगार युवालाई आफ्नो गाउँमै बसाएर कृषि पेशामा आवद्ध गराउने उद्देश्यका साथ नगरपालिकाले कृषि सामग्री उपलब्ध गराएको जनाएको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कृषि विकास सम्बन्धी (नेपाल कृषि सेवा विकास कार्यक्रम–प्रयास नेपाल) बाट हस्तान्तरित कार्यक्रम अन्तर्गत बिहिबार नगरपालिकाले सिलपौलिन प्लाष्टिक टनेल, थोपा सिचाई सेट, आइपिएम, स्प्रिङकल सहितको गार्डेन पाइप लगायतका सामग्री वितरण गरिएको नगरपालिकाका कृषि प्रसार अधिकृत धर्मेन्द्र कलौनीले जानकारी दिए ।
कोरोनाका कारण रोजगारी गुमाएर विभिन्न देशबाट फर्किएका नगरपालिकाभित्रका एक सय जना युवालाई बिहिबार व्यवसायिक कृषि खेती गर्दा आवश्यक पर्ने विषादीसहित थोपा सिचाईँ सेट, आ.ई.एम. सामग्री, सिलपौलिन प्लाष्टिक टनेल लगायतका सामग्री र सिंचाइ पोखरीका लागि प्लाष्टिक सहयोग कार्यक्रम अन्तर्गत २० जनालाई व्यवसायिक तरकारी खेती गर्नलाई बर्षाको पानी संकलन गर्न प्लाष्टिक वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
परम्परागत रुपमा गरिँदै आइएको कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरण गर्न नगरपालिकाको तर्फबाट कृषक तथा कृषक समूहलाई अनुदान समेत दिने व्यवस्था गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।
‘वैदेशिक रोजगारीका लागि युवा पुस्ता विदेशिनेक्रम बढेसँगै खेतीयोग्य जमिन बाँभिएका छन्, नगरप्रमुख रिजालले भने, ‘जनशक्ति अभावमा वर्षौँदेखि बाँझिएको जग्गामा व्यवसायिक खेती गर्ने युवालाई नगरपालिकाको तर्फबाट अनुदान समेत दिने व्यवस्था गरिएको छ ।’
नगरपालिकाले हरेक वडाको खेतीयोग्य जमिनको माटो परीक्षण गरेर उपयुक्त किसिमको कृषि खेती गर्ने तयारी गरेको जनाइएको छ । यसका लागि प्रत्येक वडालाई यहि मङ्सिर ६ गते माटो परीक्षण मेसिन प्रदान गरिने नगरप्रमुख रिजालले जानकारी दिए ।
कृषि सामग्री नगरप्रमुख रिजाल, उपप्रमुख विणादेबी राई, प्रमुख प्रशासकीय अधिकृत टेकथान दाहाल लगायतले वितरण गरेका थिए । कृषि सामग्री वितरणपछि बैदेशिक रोजगारीबाट फर्केका युवालाई चार समुह बनाई सामग्री प्रयोेग सम्बन्धी प्रशिक्षण दिइएको नगरपालिकाले जनाएको छ ।