युवा किसान गंगाबहादुरले निर्माण गरे चार वटा हाइटेक 

युवा किसान गंगाबहादुरले निर्माण गरे चार वटा हाइटेक 

रोदिक खबर

१०, माघ २०७७
  • 6.8K
    SHARES
  • युवा किसान गंगाबहादुरले निर्माण गरे चार वटा हाइटेक 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गंगाबहादुर विश्वकर्माले चार वटा हाइटेक निर्माण गरेका छन् । खोटाङ कृषि फार्म स्थापना गरेर व्यवसायीक रुपमा कृषि पेशा अपनाउँदै आएका विश्वकर्माले उच्च मूल्ययुक्त तरकारी खेतीका लागि ४२ लाखको लागतमा एकैसाथ चार वटा हाइटेक निर्माण गरेका हुन् ।

    high tech house at solma photo_daman1.jpg

    प्रदेश सरकार अन्तरगत कृषि ज्ञान केन्द्र खोटाङको ३२ लाख र खोटाङ कृषि फर्मको १० लाखमा निर्माण गरिएको हाइटेक शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका छन् । 

    प्रांगारिक कृषि अभियान कार्यक्रम अन्तरगत तरकारी, नर्सरी तथा च्याउ उत्पादन गर्ने गरी फरक–फरक आकारमा चार हाइटेक निर्माण गरिएको खोटाङ कृषि फार्मका प्रवन्धक रहेका विश्वकर्माले बताए ।

    अर्गानिक नगर बनाउने अभियान चलाइरहेको नगरपालिकामा युवा किसान विश्वकर्माले गोलबेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाजर लगायतका तरकारी खेती गर्नेगरी मंसिर ५ गतेदेखि हाईटेक निर्माण सुरु गरेका थिए ।

    जिआइ पाईप र यूवी प्लाष्टिक प्रयोग गरेर बनाइएको हाइटेकमा उत्पादित तरकारी र च्याउ दिक्तेलबजार लगायतका ठाउँमा खपत गराउने लक्ष्य छ । 

    तापक्रम, हावा, पानीलाई नियन्त्रण गरी बालीनालीका लागि अनुकूल वातावरण सिर्जना गर्ने हाइटेक निर्माणका क्रममा भएको आयव्यायका विषयमा शुक्रबार नै सार्वजनिक सुनुवाई गरिएको छ । प्रांगारिक कृषि अभियान कार्यक्रम अन्तरगत विश्वकर्माले आधुनिक बंगुर खोर तथा भकारो सुधार, च्याउको बोइलर मेसिन सहितको घर निर्माण गरेका छन् ।

    यस्तै, गँड्यौला मल र जैविक विषादि उत्पादनको तयारी गरिएको छ । विगतदेखि नै तरकारी, माछा, फलफूल खेती गर्दै आएका विश्वकर्मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यपालिका सदस्य पनि हुन् । 

    हाइटेक उद्घाटनकाक्रममा उपमेयर विणादेबी राई, वडाध्यक्ष हर्क खत्री, कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राई लगायतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १३:३०:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको