खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडा कार्यालयले नेपाल सितोरियो कराते संघलाई ल्यापटप र प्रिन्टर प्रदान गरेको छ । सितोरियो कराते संघको संस्थागत विकासका लागि सहयोग पुर्याउन वडा कार्यालय बाम्राङले एक थान ल्यापटप र एक थान प्रिन्टर प्रदान गरेको हो ।
आईतबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष ललितकुमार राईले नेपाल सितोरियो कराते संघका जिल्ला अध्यक्ष सञ्जय राईलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरेका छन् ।
पछिल्लो समय खोटाङका सितोरियो करातेका खेलाडीले विभिन्न प्रतियोगीतामा उत्कृष्ट नतिजा हासिल गरिरहेको अवस्थामा प्रोत्साहन स्वरुप ल्यापटप र प्रिन्टर प्रदान गरिएको वडाध्यक्ष राईले बताए ।
‘खेलाडी भनेका जिल्ला र देशका गहना हुन् । हाम्रो ईज्जत हुन् । उनीहरुलाई साथ र सहयोग गर्नु हाम्रो दायित्व हो,’ वडाध्यक्ष राईले भने, ‘युवालाई खेलकुदमा क्षेत्रमा इंगेज गराउन सकियो भने कुलतमा फस्नबाट जोगाउन सकिन्छ । स्वास्थ्यका हिसावले पनि खेलकुदमा सहभागी हुनु राम्रो हो । यस हिसावले हामीले कराते संघलाई सहयोग गर्ने निर्णय गरेका हौँ ।’