खोटाङ । खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका महिलाले खेर गइरहेको अल्लोलाई आम्दानीको माध्यम बनाएका छन् । रतन्छाका महिलाले स्थानीय वाकुर्तुम सामुदायीक वन, रविला सामुदायीक बन र टेम्के सामुदायीक वनमा प्रशस्त मात्रामा पाइने अल्लोलाई प्रशोधन गर्दै कपडा उत्पादन गरेर आम्दानीको श्रोत बनाएका हुन् ।
२०७४ सालमा दर्ता गरिएको महिला एकता मञ्चमा आवद्ध महिलाले हाल खाँडी तथा अल्लो प्रशोधन गर्दै कपडा बनाउने पेशा अपनाएर स्वरोजगार बन्ने प्रयास गरिरहेका छन् ।
गाउँ आसपासको जंगलमा खेर गइरहेको अल्लोलाई आम्दानीको श्रोत बनाउने लक्ष्यकासाथ महिला एकता मञ्चले घरेलु उद्योग र साकेला गाउँपालिकासँगको साझेदारीमा २०७४ सालमा दमौलीबाट प्रशिक्षक कृष्ण नहकर्मीलाई ल्याएर खाँडी तथा अल्लोको कपडा बुन्ने तीन महिने तालिम सञ्चालन गरेपछि महिलाले अल्लोको कपडा तयार पार्न थालेका हुन् ।
तालिममा साकेला गाउँपालिकाभरीका १२ जना महिलालाई सहभागी गराइए पनि हाल रतन्छाकी खड्गकुमारी राई, अञ्जना राई, कला बिक, सुचना बिक र खिदिमाकी लक्ष्मी राईले मात्र खाँडी तथा अल्लोको कपडा उत्पादनलाई निरन्तरता दिइरहेका छन् ।
अल्लोको कपडा तयार पार्ने काम झन्झटिलो र बढि मेहनत लाग्ने भए पनि माग उच्च रहेको महिला एकता मञ्चकी अध्यक्ष अञ्जना राईले बताईन् । ‘उत्पादन गरेका अल्लो या खाँडीको कपडा घरैबाट बिक्री हुन्छ, बजार पु¥याइरहन पर्दैन,’ अध्यक्ष राईले भनिन्, ‘अल्लोको कपडाको माग धेरै छ, माग धान्न सकिएको छैन ।’
तालिम लिएका महिलाले अल्लो तथा खाँडीको कपडा बुन्नका लाग आ–आफ्नै घरमा तान खडा गरेका छन् । बचेको र फुर्सद भएको समयमा उनीहरुले कपडा बुन्ने गरेका छन् । कतिपयले अन्य काम छाडेर कपडा बुन्नमा समय दिने गरेका छन् ।
विशेषगरी किरात समुदायको साकेला तथा विवाहको सिजनमा अल्लो तथा खाँडीका कपडाको बढि माग आउने गरेको अध्यक्ष राई बताउँछिन् ।
‘साकेला र विवाह हुने सिजनमा अल्लो तथा खाँडीको कपडा बढि खपत हुन्छ,’ राईले भनिन्, ‘भदौदेखि नै डिमाण्ड आउन थाल्छ । तर अल्लोमा मेहनत बढि पर्छ, श्रम बढि लाग्छ ।’ अल्लो वा खाँडीको एक तानमा ५५ मिटर कपडा तयार हुन्छ । एक तान कपडा तयार पार्न हप्तादेखि १० दिन लाग्छ । उत्पादित अल्लोको कपडा प्रतिमिटर १ हजार ५ सयका दरले विक्री हुने गरेको छ ।
अल्लोको कपडा विशेषगरी कोट, स्टकोट, ह्याट, सल, गलबन्दीकारुपमा प्रयोग गर्ने गरिएको छ । बलियो र न्यानो हुने भएकाले अन्य कपडाको भन्दा अल्लोको कपडाको विशेष महत्व छ ।
मेहनत चाहिए पनि घरेलु उद्योग प्रवद्र्धनका लागि महिला एकता मञ्चले अल्लोको कपडा उत्पादनलाई निरन्तरता दिन प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको छ । इच्छुक महिलालाई निःशुल्क तालिम दिने गरिएको छ । लकडाउनकै अवधिमा पनि महिलालाई खाँडी तथा अल्लोको कपडा बुन्ने तालिम दिइएको राईले बताईन् ।
तालिममा सहभागीमध्ये लक्ष्मी राई, खड्गकुमारी राई, कला बिक र सुजना बिकले प्रशिक्षककारुपमा समेत भूमीका निभाउँदै आएका छन् । जंगलमा पाइने अल्लो संकलनका लागि छुट्टै समुह छ ।
त्यही समुहले संकलन गरेको काँचो लोक्ता प्रतिकेजी दुई सयका दरले किनेर प्रशोधन गरेर धागो तयार पार्ने गरिएको महिला एकता मञ्चले जनाएको छ । लोक्तालाई उसिनेर सुकाउने, फेरी कमेरो लगाएर भिजाएर सुकाएपछि च्यातेर धागो निकाल्ने गरिन्छ ।
खाँडीका लागि भने बजारमै पाइने कपासकै धागो प्रयोग गर्ने गरिएको अध्यक्ष राईले बताईन् । गाउँमै उत्पादित कपासबाट खाँडीको कपडा बुन्नका लागि रतन्छामा कपास खेती लगाउने तयारी भइरहेको छ ।
सानो धागोबाट बनेका खाँडीको कपडा युवाले, मध्यम साइजको धागोबाट बनेका कपडा पाको मान्छे र ठूलो साइजको धागोबाट बनेका कपडा बुढापाकाले प्रयोग गर्ने गरेका छन् ।