खोटाङ । रुखबाट लडेका कारण वर्ष दिनदेखि ओछ्यानमा थलिएकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ओफ्लाङकी १९ वर्षीय चिनामायाँ अधिकारीलाई आर्थिक सहयोग जुटेको छ ।
रुखबाट लडेको वर्ष दिनपछि अस्पतालमा पु¥याएर डिस्चार्ज पाएकी चिनामायाँलाई शुभेच्छुकबाट नगद १० हजार सहयोग प्राप्त भएको हो । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ घर भइ हाल उदयपुरको गाईघाटमा बसिरहेका चम्फसेर राई र उदिमसेर राईबाट ७ हजार र जनता समाजवादी पाटी हलेसी तुवाचुङ नगर कमिटिले ३ हजार सहयोग गरेको हो ।
संकलित रकम मंगलबार जनता समाजवादी पाटीका नगर कमिटि अध्यक्ष मबिन्द्र राईले घरैमा पुगेर चिनामायाँलाई हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरणका लागि जनता समाजवादीका युवा नेता अञ्जिलहाङ किराती र अभियान्ता राजेश राई समेत ओफ्लाङ पुगेका थिए ।
डाले घाँस काट्नेक्रममा रुखबाट लगेर ओछ्यानमा थलिएको अवस्थामा हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईको पहलमा गत साउन १३ गते टिचिङ अस्पताल भर्ना गरिएकी चिनामायाँ साउन ३२ गते डिस्चार्ज भएकी थिईन् । २०७६ साल असार २१ गते रुखबाट लडे पनि उपचार अभावमा ओछ्यानमा थलिएको अवस्थामा उनलाई उपमेयर राईको पहलमा अस्पताल लगिएको थियो ।
रुखबाट लडेपछि ओछ्यानमा मुढो लडाएझैं सुतेकोसुतै हुने, उठेर हिँडडुल गर्न नसक्ने, तल्लो पेट बेसरी दुख्ने र खाना खाए लगत्तै वान्ता हुने समस्याबाट पीडित भएकी चिनामायाँको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार आएपछि अस्पतालले डिस्चार्ज दिएको उनका फुपाजु सुर्ज अधिकारीले बताए ।
आफन्तका अनुशार उपचारपछि उनलाई खाना खाँदा वान्ता नहुने, दाउराजस्तो सुकेको शरीरमा मासु लागेको, तौलमा वृद्धि भएको र बोलीमा सुधार आएको छ । नियमित औषधि सेवन गरेको केही समयपछि चिनामायाँ हिँडडुल गर्न सक्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।
चौवीसै घण्टा ओछ्यानमा सुतेर दिन कटाउन वाध्य चिनामायाँलाई अस्पतालले तीनदेखि छ महिनाका लागि औषधि दिएको छ । उनलाई हिँड्ने अभ्यासका लागि थेरापी गराउन सुझाव दिइएको छ । सालचौतारा–ओफ्लाङ–राईघाट सडक अनुगमनमा गएकोबेला नाजुक अवस्थाकी चिनामायाँलाई भेटेर फर्किएको केही समयपछि उपप्रमुख राईले व्यक्तिगत खर्चमा जीप रिजर्भ गरेर अस्पताल पठाएकी थिईन् । लडेर ओछ्यान परेका कारण चिनामायाँको कक्षा १० को पढाई रोकिएको छ ।
आर्थिक अवस्था कमजोर भएकै कारण वर्ष दिनसम्म अस्पतालमा जान नसकेकी चिनामायाँको उपचारका लागि मलेसियाबाट १४ जना शुभेच्छुकले २८ हजार ६७९ रुपैयाँ पठाएर सहयोग गरेका छन् । यस्तै, च्यास्मीटारका दीर्घ राईले २० हजार, ओफ्लाङका राजकुमार राईले ८ हजार र बाहुनीडाँडाका सुवास राईले ३ हजार ५ सय सहयोग गरेको अधिकारीले बताए ।
लडेर घाईते भएपछि चिनामायाँलाई सुरुमा बीर अस्पतालसम्म लगिएको थियो, बीर अस्पतालले न्यूरोमा रेफर गरेको थियो । तर कमजोर आर्थिक अवस्थाका कारण आफन्तले घर फर्काएपछि उनी ओछ्यानमा कष्टपूर्ण दिन विताउन बाध्य बनेकी थिईन् । रुखबाट लडेको तीन महिनासम्म उनको बोली आएन ।
पछिल्लो समय मानसिक अवस्था सामान्य भएपनि उनी आफै ओल्टोकोल्टो फर्कन नसक्ने अवस्थामा पुगेकी थिइन् । ओछ्यानमा उनका हातखुट्टा चलमलाउँथे । हातखुट्टा तन्काउन, खुम्च्याउन सक्थिइन् तर आफै केही गर्न सक्ने अवस्था थिएन । थोरै रस मात्र निल्न सक्थिइन्, खाना निले लगत्तै वान्ता हुन्थ्यो । उनको शरीर सुरेर हाड र छाला मात्र बाँकी थियो ।
चिनामायाँ आमा, दाजु, भाउजुसँग बस्छिन् । बुवाले दोश्रो विवाह गरेर छुट्टै घरजम गरिरहेका छन् ।