चित्रकुमार सुवेदी
आफ्नै साथीको कोखमा
छुरी धसाएर हाँस्नेहरु सँग
आफ्नै घरमा आगो लगाएर
खरानी बेच्नेहरु सँग
कति दिन अगाँलो हाल्छौ ?
के ?
दुई चार थान कुर्सीका निम्ति
उचालेका हौ बिद्रोहको ज्वारभाटा
फुकेका हौ परिवर्तनको विगुल
कहाँ छन ?
वेपत्ता पारिएका अग्रजहरू
के गर्दैछन् ?
शहिदका आमाहरु
सिन्दुर गुमाएका दिदीबहिनी
बेलैमा टुहुरा बनेका अवोध वालवालिका
आउँ, फर्क पुछ, उनिहरूको आँशु
लाइदेउ चर्चराइ रहेको घाँउमा मलम
छोड्देउ ती आफ्नै दाजुभाईको
छातीमा बुट बजार्नेको अँगालो
यदि त्यो अँगालो छोडेनौ भने
तिमी डाइनोसर हुनेछौ
रोकिने छैन आमाको आँखाको आँशु
आमालाई रुवाएर के अँगालो हाल्छौ ?
तिमीले हालेको अँगालो प्रेमको हैन
त्यो त आत्माघाती हो ।
(कवि सुवेदी प्रगतिशील लेखक संघ नेपाल खोटाङका अध्यक्ष हुन् ।)