भिम राई (माक्पाली कान्छा)
कहाँ कहाँ पुगे होलान्
यी आगन छाडेर
ती कलिला वैसहरु
रितो छ घर
भत्कि सकेकाछन
भित्ताहरु
चिसो भईगएछन
धुवाँ उडिरहने
अगेनाहरु
त्यो हुर्केको
वैसालुले
हुर्केकैको बैँस
घर भित्र्याई राखेर
भास्सियो
चिलगाडीमा
केही दिन र
केही महिना न हो
भन्दै हिँडेको उ
फर्किएन कहिल्यै
यो आगन टेक्न
भित्रयाई राखेको
विचरी बैँस
विरक्तिएर
उसैगरी
हुर्कदै गरेको
कलिलो बैँस
च्यापेर खोकिलामा
पसीन शहर तिर
उतै भेटिन होला
दौतरी
छाडीजाने वैसालु
या
अरुनै मायालु
रमायो उतै तिर
फर्केन उ पनि
अहिले
रितो छ आगन
भत्किन थालेको पिँढि
रुँगेर बसेको छ
लिखुरे पाङ्ग्रे कुकुर
भित्र
खोकी रहेकाछन्
दुई प्राणी
चारविसा कटिसकेको
आवाजमा
खङ् खङ्, खङ् खङ्
विचरा
एकजोडी परेवा
पुग्दैनन्
गैरी खेत
जाँदैनन
साउने बारी
यसपाली
छरेनन् मकै
रोपेनन् कोदो
वलसाली बैँस नै
नजिक नभएपछि
छाडि सके
तातो दालभात
खाने बानि
बाच्नु त
छदैछ जसरी पनि
अन्नको नाममा
चाउ चाउको सुप
मोहि खाने जिब्रोलाई
ट्याङ जुसको स्वाद
सरकारले दिएको
वृद्ध भत्ता छ र पो
बाँचिएको छ
विकास खोज्दै परदेशीने
वैसालुहरुलाई
मनभरी आशीर्वाद
दिन थाक्दैनन्
उनिहरु
‘सन्तानले डाडाँकाडाँ ढाकुन्’
तर
अहिले
रित्तो छ गाउँ
‘मोरा मोरीहरु’
के खालान् , के लाउलान् ?
अर्काको ठाउँमा
पछि फर्केर त आउलान नि
हाम्रै जस्तो उमेर भएपछि
पाउँने छन् स्वाद
त्यही बेला
सम्झन्छन् सँधै
हामीलाई खाने बाघले
उनिहरुलाई बाँकी राख्ला र रु
खुवैको बाठाहरु !