खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौैलेकी आस्था राई हरेक बिहान कम्प्यूटर सिक्नका लागि तालिम हलमा पुग्छिन् । आफ्नो घरायसी काम थाँती राखेर उनी हस्याङ–फस्याङ गर्दै बिहान साँढे ६ बजे अगावै तालिम हलमा पुग्छिन् र साथीहरुसँग कम्प्यूटरको किबोर्ड खेलाउन थाल्छिन् ।
उनले दैनिक बिहान साँढे ६ बजेदेखि साँढे ७ बजेसम्म कम्प्यूटरको माउस र किबोर्डमा औंला चाल्न थालेको तीन महिना बित्न लागेको छ । हाल सरसर्ती नेपाली र अंग्रेजी टाईप गर्न जानेको आस्था बताउँछिन् ।
यस्तै, अर्खौलेकै पवित्रा रम्तेल पनि बिहान–बिहान कम्प्यूटर तालिम सञ्चालन भइरहेको महिलाको सामुदायीक भवनमा पुग्छिन् । कम्प्यूटर तालिममा सहभागी हुनका लागि उनी पानीपँधेरो र घाँसपातको काम छाडेर हलमा पुग्छिन् । तालिमका दौरान आफुमा कम्प्यूटरमा ‘काम चलाउ’ टाईप गर्ने सीप विकास भएको रम्तेलले बताईन् ।
महिला लक्षित कार्यक्रम अन्तर्गत वडा कार्यालय अर्खौलेले लकडाउनकैबीचमा तीन महिने आधारभुत कम्यूटर तालिम आयोजना गरेपछि अर्खौलेका ६४ जना महिलाले कम्प्यूटर सिक्ने अवशर पाएका छन् ।
अधिकांश महिला लक्षित कार्यक्रम सिलाई कटाई, बनाई जस्ता तालिममा केन्द्रित गर्ने गरिएकामा अर्खौलेमा भने महिलाका लागि आधारभुत कम्यूटर तालिम सञ्चालन गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले बताईन् ।
महिलाका लागि विनियोजित चार लाखमध्ये दुई लाखमा चार वटा कम्यूटर र एक थान ल्यापटप खरिद गरेर कम्प्यूटर तालिम आयोजना गरिएको हो ।
हाल सबैका लागि अनिवार्य बनिसकेको आधारभुत कम्यूटर तालिम गत असार १३ गते उद्घाटन गरिएको थियो । कम्यूटर सम्वन्धी महिलाको क्षमता र दक्षता अभिबृद्धिका लागि आयोजित तालिममा सहभागीको संख्या बढि भएकाले बिहान र दिउँसोको सिफ्ट बनाइएको वडा कार्यालयले जनाएको छ ।
‘एक वडा एक सहकारी’ स्थापनाको अभियान थालिएको नगरपालिकामा सहकारी स्थापनापछि कम्यूटर चलाउनुपर्ने भएकाले पनि कम्यूटर तालिम फलदायी हुने अपेक्षा गरिएको नगरपालिकाका उपप्रमुख राईले बताईन् । ‘महिलालाई सँधै सिलाई कटाई जस्ता तालिम दिने गरिएको छ ।
तर नयाँ–नयाँ टेक्नोजोलीका बारेमा पनि ज्ञान दिनुपर्छ भनेर कम्यूटर तालिम आयोजना गरिएको हो,’ उपप्रमुख राईले भनिन्, ‘केही समयपछि स्थापना हुने महिला सहकारी सञ्चालनकाक्रममा पनि कम्यूटर सम्वन्धी सीपले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’
नगरपालिकाको आईटी शाखाले कम्प्यूटर तालिममा प्रशिक्षणको व्यवस्था मिलाएको छ । सहभागी धेरै जना भएकाले एक सिफ्टमा १० जनालाई राखेर तालिम सञ्चालन भइरहेको वडा कार्यालयले जनाएको छ ।