खोटाङ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले सामाजिक सुरक्षाभत्ता अनियमिततामा आफ्नो संलग्नता नभएको दावी गरेका छन् ।
मात्तिममा मृत्यु भइसकेका व्यक्तिको सामाजिक सुरक्षाभत्ता हिनामिना भइरहेको खबर सार्वजनिक भएपछि वडाध्यक्ष भट्टराईले मंगलबार पत्रकार सम्मेलन गरी सामाजिक सुरक्षा भत्ता दुरुपयोगमा आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ र आर्थिक प्रशासन ऐन एबं नियमावली २०७४ अनुशार वडाको सम्पूर्ण आर्थिक एबं प्रशासनिक काम कारबाहीमा जनप्रतिनिधिको प्रत्यक्ष भूमिका नरहने भएकाले सामाजिक सुरक्षाभत्ता अनियमिततामा राजनैतिक पूर्वाग्रह राखेर आफुलाई मुछ्ने काम गरिएको भट्टराईले बताए ।
मृत्यु भइसकेका व्यक्तिको सामाजिक सुरक्षा भत्ता दुरुपयोगमा तत्कालीन वडा सचिव होमनाथ ढकाल जिम्मेवार रहेको भट्टराईको भनाई छ । वडा सचिव ढकाल भदौ १७ गते सरुवा भएर साकेला गाउँपालिका–३ खिदिमा पुगेका छन् । केही दिनअघि मात्तिममा मृत्यु भइसकेका व्यक्तिको नाममा वडाध्यक्षकै संलग्नतामा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खबर सार्वजनिक भएको थियो ।
वडा समितिको सिफारिसको आधारमा पेश्की निकाल्ने र फरफारक गर्ने निर्णय भएपनि तेश्रो चौमासिकका लागि वडाबाट कुनैपनि सिफारिस नदिइएको वडाध्यक्ष भट्टराईले बताए । ‘सामाजिक सुरक्षा भत्तामा तलमाथि भएकै होला । यो हाम्रो मात्र नभएर सबै ठाउँको समस्या हो,’ भट्टराईले भने, ‘तर अध्यक्षलाई कुनै आर्थिक अधिकार नै छैन भने कसरी अनियमिततामा जोडियो भनेर भन्न सकिन्छ । यही निर मेरो आपत्ति हो ।’
वडाध्यक्ष भट्टराईले राजनैतिक पूर्वाग्रह राखेर आफ्नो चरित्रमा प्रश्न उठ्ने गरी आक्रमण गरिएको बताए । सञ्चारमाध्यममा समाचार प्रशारण हुनु अगावै केही व्यक्तिले फेसबुकमा प्रचार गरेको उनको भनाई छ ।
‘सामाजिक सुरक्षा सम्वन्धी नाम दर्ता, लगत कट्टा र सामाजिक सुरक्षा भत्ताको पेश्की लिने, वितरण गरी वास्तविक भर्पाई तयार पार्ने र फरफारक गर्ने जिम्मेवारी पञ्जिकाधिकारीको हुन्छ,’ भट्टराईले भने, ‘यस विषयमा छानविन हुनुपर्छ । दोषी प्रमाणित भए म जस्तोसुकै सजाय भोग्न तयार छु । राजनैतिक प्रतिशोध साँधेर हिलो छ्याप्न गरिएको दुष्प्रयासलाई प्रमाणित गराउन मेरो चुनौती छ ।’
साकेला गाउँपालिकाले सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता रोक्नका लागि अभियान थालेको केही समयपछि मात्तिममा मृत्यु भइसकेको व्यक्तिको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको विषय बाहिरिएको थियो ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्तदुरुस्त र पारदर्शी बनाउनका लागि ५ वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने एक हजर २१४ व्यक्तिको नामावली दावी विवरोधका लागि सार्वजनिक गरिएको छ । सामाजिक भत्ता दुरुपयोग रोक्नका लागि जस्तोसुकै कठोर कदम चाल्ने गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए ।
