खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सुन्तला ब्लक विस्तार कार्यक्रमको रकम निकासा भएको झण्डै अढाई महिनापछि किसानको हातमा पुगेको छ ।
कृषि ज्ञान केन्द्रमार्फत दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा सुन्तला ब्लक बिस्तार गर्नेक्रममा आर्थिक हिनामिना गरेको आरोप लागेका सुन्तला ब्लक विकास समितिका अध्यक्ष लक्ष्मीकुमार राई र सचिव मनोज राईले शुक्रवार कृषकलाई रकम वितरण गरेका छन् ।

तीन वडालाई समेटेर सुन्तला ब्लक क्षेत्र विस्तारका लागि आर्थिक वर्ष २०७६/०७७ मा कृषि ज्ञान केन्द्रले उपलव्ध गराएको ३५ लाख बजेटमध्ये समितिका अध्यक्ष र सचिवमाथि १२ लाख हिनामिना गरेको आरोप लागेको थियो ।
गत असोज १३ गते गुरुङडाँडामा भएको छलफलमा गरिएको प्रतिवद्धता अनुशार समितिका अध्यक्ष र सचिवले १० लाख ८८ हजार १५० रुपैयाँ रकम कृषक समुहलाई वितरण गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । तीन वडाका १५ कृषक समुहलाई रकम वितरण गरेको समितिले केही किसानलाई १ हजार ५४७ बोट सुन्तलाको प्रतिबोट ७० रुपैयाँका दरले मल उपलव्ध गराउने भएको जनाइएको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कृषि ज्ञान केन्द्रमार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ३५ लाख र कृषकको ३५ लाख गरि ७० लाखमा सुन्तला ब्लक विकास कार्यक्रम लागु गरिएको थियो । ‘रकम कहिले निकासा भयो, कति निकासा भयो भन्ने विषयमा समितिकै मान्छे अनविज्ञ देखियो ।
अनि यत्रो समयसम्म किसानलाई रकम नदिनुको नियत राम्रो देखिएन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘ढिलै भए पनि किसानको हातमा रकम पुगेको छ । केही किसानलाई मल वितरण गर्ने कुरा भएको छ । यस्ता अन्य अनियमितताका विषय पनि उजागर गर्ने तयारी गरिरहेका छौँ ।’
ज्ञान केन्द्रबाट प्राप्त हुने कुल बजेट ३५ लाखमध्ये निकासा भएको २८ लाख ४ हजारभित्र सुन्तला ब्लक विकास समितिका अध्यक्ष र सचिवले अनियमितता गरेको दाबी गरिएको थियो । ज्ञान केन्द्रबाट गत असार ३१ गते बजेट निकासा भए पनि मल खरिद तथा सुन्तला रोप्नका लागि खाल्डो खनेका किसानले हालसम्म रकम नपाएपछि सुन्तला ब्लक सञ्चालन समितिका अध्यक्ष र सचिव आर्थिक अनियमिततामा मुछिएका थिए ।
सुन्तला ब्लक विकास समितिका आरोपित अध्यक्ष राईले भने सुन्तला ब्लकको बजेटमा अनियमितता गरेको नभई कोभिड–१९ का कारण किसानलाई बेलामा रकम वितरण गर्न नसकिएको बताएका छन् । समितिका अनुशार सुन्तला ब्लक विकास कार्यक्रम सञ्चालनकाक्रममा किसानले ५० प्रतिशत लागत सहभागीता वापतको रकम बेहोरेका छैनन् ।
श्रमदानमा खाल्डो खनाएर त्यही ५० प्रतिशत लागत सहभागीता पूर्ति गरिएको समितिका अध्यक्ष राईले दावी गरे । सुन्तला ब्लक विस्तारका लागि तीन वडाका कृषि समुहलाई समेटेर सञ्चालन समिति बनाइएको थियो ।
सुन्तला ब्लक विस्तारकाक्रममा कृषि ज्ञान केन्द्रले अन्तिम अनुगमन प्रतिबेदनभन्दा केही बढि रकम निकासा दिएको पाइएको गाउँपालिका अध्यक्ष राईले बताए । गत असार १४ र १५ गते अन्तिम अनुगमन गरेको गाउँपालिकाले रकम निकासाका लागि असार १७ गते सिफारिस दिएको थियो ।
सो अन्तिम अनुगमनमा कुल ७० लाखमध्ये ५५ लाख ९२ हजार बराबरको काम भएको मूल्यांकनका आधारमा २७ लाख ९६ हजार निकासाका लागि सिफारिस दिइएकोमा ज्ञान केन्द्रले २८ लाख ४ हजार निकासा दिएको जनाइएको छ ।
कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७६÷०७७ मा उपलव्ध गराएको बजेटबाट याम्खामा सञ्चालन गरिएको नमूना कृषि फर्म स्थापना सहयोग कार्यक्रममा योजनामा सम्पन्न नभै भुक्तानी दिएको र अन्तिम अनुगमन प्रतिबेदनभन्दा बढि रकम भुक्तानी दिएको पाइएको गाउँपालिका अध्यक्ष राईले बताए । यसले अन्य स्थानीय तहमा सञ्चालन भइरहेको योजनाको पारदर्शीतामाथि पनि प्रश्न उठाएको छ ।