यतिबेला नेपालको राजनीतिमा दुईखाले ताण्डव दृष्यमा छन् । एक, झण्डै दुई तिहाईको बहुमतले एकलौटी शासन चलाउने महान अवसर प्राप्त दलका नेताहरुको अमत्याँई । दुई, कथित राजावादीहरुको ताइँफाइँ ।
पहिला म सत्तारुढ दल बीच पाक्न नसकेर कचल्टिएको खिचडी बारे केही कहन्छु, अनि राजावादीको थोरबहुत कैरन ल्याउँला !
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यसरी एउटै अर्थ दिने फरक आकृतिका दुईवटा नाम किन गाँसियो होला ? एउटा पूरा नाममा अंकित छ र खुला पनि छ । अर्को चाहिँ संकेत मात्र छ र ब्राकेटभित्र बन्द पनि गरिएको छ । शीर्षकले पेट बोली पृष्टि गर्छ । हामी लेख्ने मान्छेले जानेको कुरा यही हो । नेतृत्वले मानोस् नमानोस् , एउटा पार्टीको पञ्जामा अर्को पार्टी रहेर एकसाथ जाने भन्ने भावार्थ शीर्षकले कहन्छ । अन्यथा एउटै नाममा एकीकृत हुँदा के फरक पथ्र्याे होला ! यो पाल्सी नाम जुराउने शब्दजालीलाई मान््नु पर्छ वा ! माओवादीको भूमिका उसैबेला ब्राकेटभित्र राखेको हो ।
लोकतान्त्रिक सत्ता राजनीतिमा कार्टेलिङलाई असामान्य मानिदैन । विल्कुल भिन्न विचारधारा वा सिद्धान्त बोकेका पार्टी पनि सत्तारोहण निम्ति समीकरणमा सामेत हुनुलाई स्वाभाविक ठानिन्छ । कम्युनिष्ट वा कांग्रेसको सरकारमा राप्रपालाई हुलेर शासन गरेको क्षणलाई अपवित्र मानिएन नि ! केही समय अगाडिसम्म यही सरकारसँग पनि जसपा थियो ।
यस मानेमा, दुईवटा कम्युनिष्ट पार्टी एक ठाउँमा आउनुलाई कार्टेलिङ मानिएन, बरु वहुसंख्यक नेपालीले राजनीतिक स्थायित्व निम्ति सहजै अंगीकार गरेका हुन् । तर परिणाम यस्तो आयो कि, यी दुई पार्टी गर्नलाई होइन, खानलाई पो मिलेका रहेछन् । यो ठम्याइ चाहिँ तल्लो तहका जनताको हो नि फेरि † सार्वभौम जनतालाई नेतृत्व र सरकारका गतिविधि पर्गेल्न पाउने अधिकार रहन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्न निम्ति आफ्नै पार्टीबाट जुन उद्योग चलिरहेको छ, यो सन्दर्भ बडो पेचिलो छ । सुन्न र हेर्न निकै स्वादिलो पनि भइरहेको छ ।
हो, न्यायालयदेखि सुरक्षा निकाय, निजामती सेवा र कुटनैतिक क्षेत्र समेतमा पार्टीकरण भएको छ । भ्रष्टाचार सम्बन्धमा त कुरै नगरांै, त्यो अन्ताराष्ट्रिय स्तरबाट समेत पुष्टि भैसक्यो । नातावाद, कृपावाद, दण्डहिनता यी सबै राजनीतिक विसंगति छताछुल्ल छन् ।
यस अर्थमा उहाँलाई प्रधानमन्त्री पदमा बहाल रहन नैतिक आधार गुमिसकेको छ । तर यी सब असंगत कामहरु हुँदै गर्दा उहाँलाई पार्टीले सचेत गरायो गराएन ? यो उधुम् एकैदिन वा रातमा भएको त होइन क्यारे ! पार्टीमा अनुशासन समिति होला, निर्देशक समिति होला, सचिवालय होला । पोलिटब्युरो भन्ने संस्था पनि कम्युनिष्ट पार्टीमा हुँदोहो ! तिनले भद्रा हेरेर बस्नुको तुक के थियो त ?
हो, यी विविध कारणले प्रधानमन्त्री र मन्त्रीहरु जनहितकारी ठहरिदैनन्,फालिनुपर्छ । तर फाल्ने कसरी ? त्यसको विधि विधान छैन ? गुट गुटमा, दरवार दरवारमा बैठक गरेर जत्था तयार गरेका भरमा अहिलेको प्रधानमन्त्री फाल्न संविधानले दिदैंन ।
हँन, ठूला नेताहरु आफ्नै पार्टीको विधान र संविधान पढ्न पनि भ्याउँदैनन् कि कसो ? संसदीय दलले चाह्यो भने प्रधानमन्त्री फेर्न सक्दैन र ? उत्रा ठूलाठूला कमिटिहरु तातिरहनै पर्दैन । आखिर संसदीय दल भनेको पनि पार्टीकै एउटा निकाय हो । ताला आफ्नै चाबीले मात्रै खुल्छ । उस्तै देखिने चाबी जुनसुकै तालाको प्वालमा हाल्दा ताला खुल्दैन । किंचित अहिले अवलम्वन हुँदै गरेको प्रक्रियाबाट प्रधानमन्त्री फालियो भने विद्यमान संविधानको कुनै औचित्य रहँदैन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जुन गतिविधिहरु भइरहेका छन् , तिनलाई नियाल्दा, लाग्छ, त्यहाँ भीषण युद्ध चलिरहेको छ । बेला–बेलामा युद्धविराम भएको पनि देखिन्छ । सात दिने, पन्ध्र दिने । फेरि हानाहान । युद्धमा विधि विधानको हेक्का हुँदैन । Nothing is unfare in love and war. सत्तारुढ पार्टी कार्यालयमा चारैथरि सुरक्षादस्ताको घेराबन्दी, बाफरे !
हुन त, ओली सा’बले छानेका कतिपय योग्यतम् मन्त्रीहरु नै आफ्नो काम, कर्तव्य अधिकार पढ्न भ्याउँदैनन् कि ठम्याउँदैनन् ? बेला बखत वादशाह अकबरका मन्त्रीले झंै बोल्दिन्छन् । जुम्लामा गोली चलेको होइन भनेर रक्षा मन्त्रीले ठोकिदिनुभो । औषधि खरिदको सम्झौता गर्ने उपप्रधानमन्त्रीको तप्का अनि आपूर्ति मन्त्री बन्दरगाह बनाउँछु भनेर महाकाली किनारतिर धर्ना कस्नु भा’छ क्यारे !
हुन त नेपाली जनताले बहालवाला मन्त्री सरकारको विरोधमा धर्ना बसेको पनि देखेकै हो । आठ नौ महिना यता चाँहि आफू कोरोना कहरमा गुँडुल्किएर जनताले निरन्तर देखिरहेको दृष्य के हो भने, लाखांै रुपंैया मासिक तलव खानेहरु झण्डावाल गाडीमा अगुवापछुवा सुरक्षादस्तासहित पार्टीको काममा खटिएका छन् । यो चाँहि सहजै पच्ला त ? भ्रष्टाचरण भनेको के ?
जनताले त लाजले आफैँ आँखा छोपिसके तर आफ्नै कायकर्ताले भकुर्लान् है † बोकाले दाइँ हुनेभा, गोरु किन चाहिन्थ्यो भन्ने उखान छ । हो कि के हो ! अव म ठूला पार्टीको चर्तिकला देखेर अपुताली पो परिहाल्ला कि भनेर जुर्मुराएका राजावादीहरुलाई केही कुरा सुध्याउँछु :
शासन भनेको सक्नेले गर्ने हो । निम्छराका हातमा वागडोर गयो भने, दुर्घटना हुन सक्छ । जंगेले कोतपर्व नमच्चाएको भए राणाशासन आउँदैनथ्यो । राणाले शासन चलाउन सकिरहेको भए, सात साल आउँदैनथ्यो । प्रजातन्त्र थेगिरहन सकेको भए, सत्र साल आउँदैनथ्यो । पञ्चायतले ऐंच्याउन सकेको भए छयालीस साल आउँदैनथ्यो । पुनः स्थापित प्रजातन्त्रले धान्न सकेको भए, त्रिसट्ठी साल पनि आउँदैथ्यो ।
बैसट्ठी, त्रिसट्ठीको आन्दोलनले जसैतसै टिकिरहेको राजसंस्था गयो । दुई सय चालीस बर्ष टिकेको राजसंस्था सदाका लागि किन गयो भने, कुलमण्डन शाहबाट आरम्भ भएको शाहवंशीय शासन ज्ञानेन्द्र शाहमा आएर टुंगियो । अर्थात ‘क’ बाट शुरु भएको शाही सत्ता ‘ज्ञ’ मा आएर सकिएको छ । ‘क’ बाट ‘ज्ञ’भनेपछि यसको कोर्श पूरा भइसकेको छ । ज्ञानेन्द्रका उत्तरधिकारीको हालत सबैलाई थाहा छ । यो तुक नबुझेरै रडाको गर्दैछन् नेपालीहरु कि पाल्सीखेल चल्दैछ हँ ? तर मान्छे त निकै लागेको देखिन्छ ।
नाभो उम्रिएला तर फल्दैन । फेरि पनि नेपालमा शासन पार्टीले नै गर्नेहो । त्यसको छनिोफानो भविष्यले गर्ला । (लेखक आचार्य सम्पादक समाज खोटाङका अध्यक्ष तथा खोटाङखबर साप्ताहिक पत्रिकाका प्रधान सम्पादक हुन् ।)