डिस्सोसियटिभ डिस्अडर : कारण लक्षण र बच्ने उपाय 

डिस्सोसियटिभ डिस्अडर : कारण लक्षण र बच्ने उपाय 

रोदिक खबर

२२, बैशाख २०७८
  • 6.7K
    SHARES
  • डिस्सोसियटिभ डिस्अडर : कारण लक्षण र बच्ने उपाय 

    आजभोलि विद्यायालय पढ्ने अधिकांश विद्यार्थी विशेष गरि बालिकाहरुमा एक किसिमको रोग देखिन थालेको छ । खास गरि किशोरावस्थाका केटीहरुमा यस्तो खाले समस्या आउने गरेको छ । कहिलेकाहीँ एक जना त कहिले धेरै जनामा यस्तो किसिमको नयाँ प्रकृतिको रोग देखिने गर्छ । केहि मानिसहरुले यस्तो खाले रोगलाई हिस्टेरियाको सज्ञा दिएका छन जो विशेष गरि यौन रोगसगँ सम्वन्धित हुन्छ ।

    त्यसो हुनाले यसलाई हिस्टरिया भन्न नमिल्ने स्वास्थ्यकर्मी तथा मनोरोग बिशेषज्ञहरु सुझाउछन । अहिले यो रोग धेरै विद्यालयमा जटिल समस्याको रुपमा रहेको छ । केहि बिद्यालयहरु त यस्तो रोग लागेपछि पूर्ण रुपमा विद्यालय बन्द नै गर्न बाध्य भएका छन ।

    स्वास्थ्य कर्मी तथा मनोरोग विशेषज्ञका अनुसार यो रोगलाई एक किसिमको डिस्सोसियटिभ डिस्अर्डर भनिन्छ । यसलाई यौन सगँ जोडेर अर्थ लगाउदा केटी विद्यार्थीहरुमा एक किसिमको नकारात्मक असर पुग्ने भएकोले र उनिहरुमा हिनतावोध हुनाले नै यसलाई हिस्टेरिया भन्न नमिल्ने राय उनीहरुको छ ।

    यो रोग वास्तवमा हिस्टेरिया पनि होईन । खास गरेर यो उमेरका केटीहरुमा महिनावारी हुने समय भएकोले अनि शरीरमा एक किसिमको हर्मोन उत्पादन हुने र त्यसैको कारण यस्तो रोग लाग्न सक्ने बताउँछन जानिफकारहरु । हर्मोन परिवर्तन हँुदा विभिन्न किसिमका तनावहरु आउने र तिनीहरुको सहि व्यवस्थापन र समाधान गर्न नसक्दा यस्तो हुन सक्ने उनिहरुको सुझाव छ ।

    यस्तो किसिमको रोग लाग्दा बिभिन्न थरिका लक्षणहरु देखिन सक्छन ,जस्तो बेहोस हुने,मुखबाट छारे रोग जस्तै फिज निकाल्ने, आँखा पल्टाउने, जिभ्रो टोक्ने, पिसाव छोडिदिने, काम्ने, चिच्याउने, कराउने, डराउने, आत्तिने, बेहोसमा बर्बर केहि बोलीरहने, जस्ता लक्षणहरु प्राय सबैमा देखिन्छन् । यो त्यस्तो किसिमको खतरा अनि घातक रोग भने होइन उमेर पुग्दै जाँदा पछि आफैं निको भएका उदाहरणहरु धेरै छन् ।

    यो एक प्रकारको मनोवैज्ञानिक रोग भएकाले जब बालिकाहरु तनावलाई वहन गर्न सक्दैनन अनि आफुलाई एक किसिमको हिनतावोध ठान्छन र उच्च महत्वकांक्षा र कल्पनामा डुब्छन तब यस्तो रोगले उनीहरुलाई आक्रमण गरिहाल्छ । गरिवी, मानसिक यातना, दिवास्वप्ना, अतृप्त कल्पना पनि यस रोगका सहायक कारणहरु हुन ।

    अहिलेको जंकफूड जस्तो चटपटे, पानीपुरी, चिप्स, क्राकर, तारेको, भुटेको प्याकिङ गरेको अनि रंगिन किसिमका तयारीखानाहरुले पनि स्वास्थ्यमा प्रतिकुल असर पार्दा पोषणयुक्त खानाको अभाव भई विभिन्न हर्मोनहरुको असन्तुलन हुन गई यस्तो किसिमको रोगले सताउँछ । यसले त्यस्तो ठूलो समस्या नल्याएता पनि बारम्बार बेहोस भई रहँदा पछि डिप्रेसन हुन सक्ने र जस्को कारण आत्महत्या गर्न सक्ने संभावना प्रवल रहने विज्ञहरु बताउँछन ।

    यस्तो रोग किन केटीहरुलाई नै हुन्छ त ? बास्तवमा केटीहरु केटाहरुको तुलनामा अलि लजाउने, मनको कुरा खुलारुपमा व्यक्त गर्न नसक्ने, घरायसी कार्यबोझ अलि बढि हुने, घरेलु हिंसा, असफलता, डाहा, ईष्या, अनियन्त्रित शारीरिक परिवर्तन, थोर बहुत अतृप्त यौन चाहना र जिज्ञासा, लिङ्ग भेद, छोरा र छोरी बिच फरक व्यवहार तथा ,मायाँ ममता, लुवाइ खुवाइ तथा श्रींगारका समानहरु सहज रुपमा व्यवस्थापन गर्न नसक्ने अलि कमलो स्वभाव हुने र साना कुरामा पनि शंका लिने डराउने साथै घरको कडा अनुशासनमा बस्नुपर्ने भएकोले इच्छा तथा चाहनाहरु सजिल्यै पूरा नहुनाले पनि दबिएका मनोभावनाको बिस्फोटन स्वरुप यस्तो किसिमको लक्षण आउने गर्छ ।

    यस्तो किसिमको मनोवैज्ञानिक रोग लाग्दा हाम्रो परम्परावादी समाज देवि देवता, दैवि शक्ति, धामी झाक्री तथा फुकफाक जस्ता अव्यवहारिक प्रकृया अपनाउने चलनले पनि यस्तो किसिमको रोगले जरा गाडिरहेको छ । जब एक जनालाई यस्तो किसिमको रोग लाग्न थाल्छ तब अरु केटीहरुको मानसिकतामा आघात पुग्न गई लोलाउन, टोलाउन र एकोहोरिन थाल्छन तब उनिहरुमा पनि यस्तो रोगले आक्रमण गरिहाल्छ जसलाई हामी मास हिस्टेरिया भन्छौं । यो रोगको उपचार असंभव भने छैन, डाक्टरकोमा गइरहनु पनि पर्दैन आत्तिहाल्नु पर्ने पनि कारण छैन ।

    यस्तो रोगको सफल उपचारको लागि सर्वप्रथम मानसिक परामर्श नै उत्तम उपाय हो । विरामी होसमा आइसकेपछि उसलाई संझाउने, बुझाउने, उसका समस्या तथा पिडाहरु ध्यान दिएर सुनीदिने हल गर्न सहयोग गर्ने, फकाउने, फुल्याउने, सान्त्वना दिने, मनका याबत पिडाहरु खुलेर अरु सगँ शेयर गर्ने वातावरणको व्यवस्था गरिदिने, उसलाई मायाँ दिने अनि आफ्ना कमि कमजोरीहरु हटाउन सहयोग गर्ने ।

    एक्लै भन्दा समुहमा मिलेर बस्न हिड्न तथा काम गर्न हौशला दिने जस्ता कुराबाट यो रोगको उपचार गर्न सकिन्छ । विद्यालयमा यस्तो प्रकृतिको समस्या आएमा शिक्षक तथा प्रध्यानाध्यापकले संझाउने, बुझाउने,मायाँ गर्ने सकारात्मक ब्यबहार प्रदर्शन गर्ने साथी संगी सगँ मिलीजुली बस्ने साथै अभिभावक बोलाएर सकारात्मक तरिकाले संझाउने र बालमैत्री घर व्यवहार तथा विद्यालय व्यवहार गर्दा यस्तो रोगबाट सजिल्यै विद्यार्थीलाई छुट्कारा दिन सकिन्छ । (शिक्षक, श्री भगवती दिनानाथ मा.वि. खोटाङबजार)

    प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - १६:४९:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको