त्यो सुनसान बस्तीमा जिर्ण भएका घरहरु लडेका छन, पाखा पखेराहरु बन्जर भएका छन, खेतबारीमा ऐसेलु र सोतर तथा बुकीफुलले राज गरिरहेको छ । कान्लाभरी उन्यू र पातीहरु पलाएर ढपक्कै छोपेको छ । आँगनमा दुबो पलाएको छ, मझेरीमा सिरुले लामा लामा जराहरु फैलाएर ढाकेका छ । उता मक्किसकेका थामहरुमा च्याउ पलाएर बुट्टा झैं देखिन्छ ।
भत्किसकेको घरको गारोमा काँचो पात पलाएर पनि सुकिसकेको छ । यो बस्तीमा अहिले वशन्त ऋतु फर्किएको छैन नत सरद ऋतु नै आउँछ । बगैचाका फलफुलहरु ओइलाई सके अनि बाँस झाङमा चराहरु बस्दैनन् । कुवाको पानी सुकिसक्यो अनि मुलको पानीमा कमिलाहरु हिड्छन । बिच गाँउको बर पिपलको चौतारी पनि सडक बनाउँदा डोजरले जरा सहित उखेलिसकेको छ ।
बस्तीमुनिको खेतमा सिचाँइ गर्ने कुलोको मुहानमा सुख्खा लागेको छ भने धेरैले त अब मुहान पनि चिन्न छाडिसके किनकी त्यहाँ त पानी पनि सुकिसकेको छ । दुई मुरी चामल र बीस धार्नी मासुको भतेर खाइसक्ने मानिसहरु अहिले सबै मुग्लान र त्यसपछिको बसाइसराइको कारण गाँउ उजाड भएको छ, निख्रिएको छ । बस्तीको मौलिक पहिचान गुमेको छ अब उक्त बस्ती श्रेस्तामा मात्र सिमित रहेको छ ।
कुनैबेला पुरै बजार र वरिपरिको क्षेत्रलाई रासन र तरकारी तथा फलफुलले पुर्याउने त्यो बस्ती आज आयातित बोरामा ल्याइएका सस्ता तथा कुहिएका चामल खान बाध्य भएको छ । बिषादी मिसाएको र तराईबाट ल्याइएका बासी तरकारी र मिसावटयूक्त तेलको भुटुनमा गुजारा चलेको छ ।
ती गाँउहरुमा धनि तथा गरिबहरु एक छत्र भइसकेका छन किनकी सबैको घरमा जाउलो नै पाक्छ अनि छोटो समयको अन्तरालमै मासुको तरकारी बन्छ नजिकैको बजारबाट ल्याइन्छ ब्रोइलरको बिसाक्त मासु । खेतबारी बाझो, करेसाबारी नाङगो,गाई भैसी गोठ खाली, बाख्रा खोर रित्तो, बगैंचामा सुकेका केहि फलफुलका ठुटा मात्र तथापि गुजारा त चलेकै छ । जय तराई जय भारत कतिन्जेलसम्म थामिदिने हो निगाहाले ।
जेठो छोरा परिवार लिएर शहरमा भाडामा बस्छ, माइलो छोरा केटाकेटी पढाउनको लागि बुहारीलाई कोठा लिएर राजधानीमा राखेर आफु मुग्लान बसेको छ । साइलो छोरा लखनउमा भर्ती भएको आजकल फ्यामेली सहित उतै बस्दैछ । काँइलो छोरा क्याम्पस पढ्नका लागि शहर पसेको खै मेन पावरमा काम गर्छ रे घर नआएको पनि निकै बर्ष भइसक्योे, चिठी चपेठो केहि छैन । कान्छो चाँहि यतै गाँउघर तिरै छ उ पनि तास, जुवा, खान पिनमा मस्त छ ।
एक छाक खाएर हिड्यो भने दुई चार दिन आउँदैन उसका पनि आफ्नै हाँच मिल्ने चुरोटे हुक्के गजेडी दोस्ती छन रे खुव मिलेको छ उनिहरु सगँ । घरमा चारबिसे हिउँद बर्षा काटी सकेका र सेतै फुलेका दाँत झरिसकेका तथा कुप्रो शरिर भएका युगल बृद्धा मात्र । गाँउ गाँउमा बाटो खनिएर ट्याक्टर सम्म पुगकोले रासन पानी र तेल मसलासम्म पुगेकोले र सरकारी बृद्ध भत्ताले गर्दा जसो तसो हात मुखसम्म जोड्न त्यत्रो मुस्किल छैन ।
यो बस्ती नेपालका अधिकांश ग्रामिण क्षेत्रको पहाडी बस्तीको प्रतिनिधिमुलक पहिचान हो । हाम्रो देशका सबै जसो पहाडी भु भागको बास्तविक वस्तुस्थितिको हुलिया यस्तै नै हो । बस्ती खाली र उजाड छ, बलिया पाखरी भएका र जोस जागर तथा हिम्मत भएका अनि गरिखान सक्ने सबै युवाहरु कि त मुग्लान कि त शहर पसेका छन, अनि मुग्लानको कमाइबाट शहर बजारतर्फ बसाइ सराइ गरिसकेका छन ।
गाँउको बस्ती सुन्य छ भने तराइ र शहरबजारमा खुट्टा हाल्ने सम्म जग्गा छैन । सबै आवादी जग्गाहरु आवासमा परिवर्तन भैसकेका छन । बाक्लो जनसंख्या, धुवाँ धुलो, कोलाहल, प्रदुर्षण चोरी डकैत, लुटपाट, हत्या हिंसा अपहरण, बलात्कार बेरोजगार अनि अवैध लागू पदार्थको ओसारपसार जस्ता कुकर्मले शहर बजार तथा तराइको बस्ती निसासिदो कलंकित तथा दुषित भैसकेको छ । जैविक खाना, स्वस्थ्य र ताजा हावा तथा पानी पिउन अव शहर बजारले कल्पना गर्न सक्दैन ।
नेपाल एउटा कृषि प्रधान देश भनिएता पनि अहिले देशमा खपत हुने सबै खाले दैनिक उपभोग्य बस्तुहरु छिमेकी मुलुकबाट नै आयातित हुन्छ । धान मकै आलु प्याज, गुन्द्रक, तरकारी, लताकपडा, दाल तेल लगायत सबै समानहरु बाहिरबाट ल्याउँदा देशको कति राजश्व बाहिरिन्छ ? अनि कसरी देशको विकार होला त ।
शहरमा हड्ताल भो गाँउ पस, भुकम्म आयो गाँउ पस, प्राकृतिक प्रलय भयो भने गाँउ नै जाने महामारी भयो विपत परो गाँउ नै उपयुक्त ,ताजा हावा गाँउमै, चिसो र स्वस्थ्य हावा त्यो पनि गाँउमै, खेतिपाति योग्य जग्गा पनि गाँउमै, सुन्दर र फरासिला अनि उद्दार मनहरु पनि गाँउमै, शान्त परिबेश पनि गाँउमा, सहयोगी मिलनसार जागरिला असल मान्छेहरु पनि गाँउमा नै हँुदा रहेछन अनि किन गाँउलाई यसरी उजाड बनाइएको र नङग्याएर रित्तो बनाइ शहरतिर बस्ती सरेको त ?
समृद्दिका सपनाहरुका विस्कुन धेरै फिजाइए, भूमि भत्काउने संयन्त्रको माकुरे सञ्जालले सबैतिर घेरा लगाइयो, घर घरमा ग्याँस पाइप लाइन र हावाबाट विजुली निकाल्ने तथा स्मार्ट शहर र मनोरेलको सपना पनि बाढियो यद्धपि उक्त कुराहरु असंभव चाँहि होइनन संभव छ सपना देख्नु महान कुरा हो ।
मेलम्चीको पानी ल्याउने सपना नदेखेको भए आज काठमाण्डौंमा त्यो पानी कदापी आउने थिएन, सपना देख्नु र कल्पना गर्नु बिकासको लागि असल कुरा हो तर अधिकांश गाउले परिबेश भएको गरिव देश नेपालमा पहिलो र अनिवार्य तथा आधारभुत आवश्यकताको परिपूर्ति गरि सकेपछि मात्र अतिरिक्त र ठूला विकासका सपना तर्फ उन्मुख हुनु आवश्यक हुन्छ ।
समृद्द नेपालको लागि पहिलो कुरा त हरेक नेपालीलाई गाँस, बास र कपासको पूर्ण व्यवस्था भएपछि मात्र अन्य कुराको तर्जुमा गर्न उपयुक्त होला । यस्ता आधारभुत आवश्यकता परिपूर्ति गर्ने कुरामा स्वावलम्वी र आत्म निर्भर बनाउन अति आवश्यक छ । यसका लागि गाँउ फर्क अभियान तथा कृषि क्रान्ति नै उत्तम हो ।
अब गाँउमा बती पुगेको छ, सडक सञ्जालले बस्ती जोडिसकेको छ, मात्र गुणस्तरीय शिक्षा र सुविधा सम्पन्न अस्पतालको व्यवस्था गरि बसाइ सराइ दरलाई नियन्त्रण गरि एक बस्ती एक उत्पादन, एक घर एक बाली साथै पकेट जोन र इकाइ क्षेत्र घोषणा गरि साना तथा घरेलु उद्योगलाई प्रसय दिदै, उत्पादनशील कर्मठ कृषकलाई प्रलोभित गर्न र संकलन तथा वितरण केन्द्र स्थापना गर्न सकेको खण्डमा देशमा समृद्धिको संभावना छ ।
देश अहिले कोरोनाको कहरमा पिल्सिएको छ, सबैतिर लकडाउन छ यो हुन आवश्यक पनि हो । उद्योग कलकारखाना, होटल व्यवसाय धरासायी भएका छन, व्यापार पर्यटन तथा अन्य राजश्व भित्रिने क्षेत्रहरु अस्तव्यस्त भइसकेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय नाकाहरु ठप्प छन, यसबाट सर्वसाधारणको दैनिकी मुस्किल बन्दैछ ।
समग्रमा देशको अर्थनीति धरासायी बनेको छ विपतको समय आइसकेको छ । अकालमा धेरै मानिसहरुले आफ्नो ज्यान गुमाइ सकेका छन यस्तो भयावह स्थितिमा संयम हुनुको विकल्प छैन । हरेक औशींको कालो रातपछि पूर्णिमाको जुनेली रात आउँछ त्यसैगरि मडारिरहेको कालो बादलभित्र पनि चादीको घेरा हुन्छ । अवको संभावना भनेको उजाड बस्तीमा पसेर हरित क्रान्ति गर्नु हो संभावनाका पोकाहरु खोल्नु हो ।
यो संक्रमणलाई चुनौतीको रुपमा मात्र नलिएर एउटा सकारात्मक शिक्षाको रुपमा लिएर अवको बाटो भनेको ग्रामिण परिवेशमा गएर संभावनाको खोजी गरि संभावित कार्य गरिहाल्नुपर्ने कुराको छनक यस विकराल परिस्थितिबाट सिक्न अति आवश्यक छ । एक पटक यो तालिका अध्ययन गरौं त । कृषि प्रधान देश नेपालले वार्षिक रुपमा कति समानहरु आयातित गर्दाे रहेछ ।
खसी वोकामा दुई अर्ब पचासी करोड, राँगामा एक करोड पन्ध्र लाख, तेलमा २७ अर्व, प्याजमा ४ अर्व ८५ करोड, गोलभेडामा ३० करोड, कागती ४३ करोड, लसुनमा ६१ करोड, अदुवामा ८ करोड, बेसारमा करिव १७ करोड, तोरीमा १७ करोड, मदिरा २२ अर्ब, तासमा करिब १३ करोड, जनैमा १ अर्ब, खुर्सानी मा ६४ करोड, गुन्द्रुकमा १ अर्ब २३ करोड, कस्मेटिकमा १ अर्ब ८६ करोड, कण्डममा करिब १४ करोड, वनस्पती घिउमा ८ अर्ब ९७ करोड, चिया कफीमा ६ अर्ब ८६ करोड, तिहारको बत्तीमा ६१ करोड, तिहारको भाई मसलामा १ अर्ब ६४ करोड, मेहेन्दीमा २ अर्ब ४७ करोड, आम्मामा !
यति बजेट बर्षेनी बाहिरिदा देशको अर्थतन्त्रले कसरी धान्न सक्छ होला त ? देशले कसरी थामेको होला त ? अरु केहि नगर्दा पनि नेपालमा माथि लेखिएका कुराहरु मात्र आफ्नै देशमा उत्पादन गर्न सकेको खण्डमा कसो समृद्धि संभव नहोला त ? अबको एउटैमात्र बिकल्प यहि हो ।
मात्र हरित कृषि क्रान्ति अनि आधारभुत आवश्यकतामा आत्म निर्भरता । यति भैसकेपछि मात्र अरु अतिरिक्त आवश्यकताको बारेमा सोच्ने पो हो की ? (लेखक खत्री भगवती दिनानाथ मावि खोटाङबजारका शिक्षक हुन् ।)