तीन वर्ष कुवेत बसाईपछि तरकारी खेतीमा रम्दै पुनम

तीन वर्ष कुवेत बसाईपछि तरकारी खेतीमा रम्दै पुनम

रोदिक खबर

१३, भाद्र २०७७
  • 6.6K
    SHARES
  • तीन वर्ष कुवेत बसाईपछि तरकारी खेतीमा रम्दै पुनम

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाँडागाउँकी पुनम राईको दिनचर्या घर वरपर लगाइएका गोलबेँडा, काउली, काँक्रा, बन्दा, प्याज, लसुन गोडमेलमै बित्छ ।

    तीन वर्ष कुवेत बसाईको अनुभव संगालेकी राई बिहानदेखि साँझसम्म श्रीमान रामकुमार राईसँग तरकारी गोडमेड गर्न, पानी हाल्न, विक्री गर्न योग्य तरकारी संकलन गर्न र तरकारी हाटबजारमा पुर्‍याउन व्यस्त हुन्छिन् । सोमबार घरैमा भेटिएकी पुनमलाई तीन वर्षको नावालक छोरा सुतेको मौकामा कृषि कर्म गर्ने चटारो थियो ।

    पुनम र रामकुमार दम्पत्तीको कृषि कर्म दशकौं अघिदेखिको हो । रामकुमार आफैले ०६२र६३ देखि नै तरकारी खेती गर्दै आएका थिए । २०६४ सालमा पुनम र रामकुमारको विवाह भएपछि त्यो तरकारी खेतीले थप गति लिएको हो ।

    रामकुमार आफै मेहनत गर्थे, त्यसमाथि ‘विदेश बसाईकाक्रममा आफ्नै ठाउँमा श्रम गर्नुपर्छ’ भन्ने बुझेकी पुनमको साथ मिल्यो । हाल नुनदेखि सुन जोड्न त्यही कृषि कर्मले धानिरहेको छ । १० वर्षकी छोरीलाई दिक्तेलकै स्याम्पल एकेडेमीमा पढाउनदेखि बचत गर्न पुगिरहेको छ ।
    ०००
    मोरङ रमाईलोका बाबु जमानध्वज राई र आमा दिलकुमारी राईको ५ दिदीबहिनी र ४ दाजुभाईमध्ये पुनम माइली छोरी हुन् । उनी पढ्दैगर्दा दाजु भीमकुमार र श्यामकुमार विदेश पुगिसकेका थिए । पछि ०५८ सालको एसएलसिमा विषय लागेपछि उनी पनि विदेश जाने ‘मुड’ मा पुगेकी हुन् । एक त गाउँमा विदेश जाने र कमाउनेहरु धेरै भएकाले उनमा लहड पनि थियो ।

    घरमा खान लाउन दुःख थिएन । पुनमको बाल्यकाल सुखसयलमै बितेको थियो । एकाएक विदेश जाने प्रस्ताव राख्दा बाबुआमाले स्वीकार गरेनन् । सम्झाई बुझाई गरेपछि पुनमलाई विदेश पठाउन ‘कन्भिन्स’ भईन् । र पैसा कमाउने सपनामा ०६० सालमा कुबेत पुगिन् हाउसमेडको काममा ।

    कुवेत बसाई पनि सोचेजस्तै भयो उनका लागि । परदेशमै भए पनि पारिवारिक बसाई मिल्यो । घर मालिक प्रिन्सिपल थिए, मालिक्नी प्रोफेसर । काम गरेवापत उनले मासिक ५० डिनर पाउँथिन् । ‘छोरी मान्छे विदेश जाँदा मान्छेले नराम्रो सोच्छ, तर सबै ठाउँ नराम्रो हुन्छ भन्ने सोच्नु गलत हो,’ पुनमले भनिन्, ‘एजुकेटेड फ्यामिली भएकाले मैले नराम्रो महसुस गर्न परेन । परिवारमा जस्तै गरि बसियो ।’

    रोजगारदाता मालिक र मालिक्नी खाजा खाएर विहान ७ बजेभित्र कार्यालय जान्थे । बालबच्चा पनि विहानै स्कुल जान्थे । उनीहरु दिउँसो ३ बजे खाना खान आउँथे । पुनम त्यो घरमा कुकको काम गर्थिन् । उनीसँगै एक फिलिपिन्सकी महिला क्लिनरको काम गर्थिन् । पछि फिलिपिन्स क्लिनरको काममा नेपाली महिला नै आइपुगेको उनी बताउँछिन् ।

    पुनमको कुबेत बसाई सहज थियो । महिना मर्ने वित्तिकै तलव हात पथ्र्यो । आफुलाई खर्च राखेर बाँचेको पैसा घरमा पठाउँथिन् । एकाएक बाबु बिरामी भएको खबरले उनको कुबेत बसाई छोट्याउन प¥यो । घर आएको केही समय लगत्तै बाबुको मृत्यु भयो । त्यसपछि विदेशको सपना त्यागिन् ।

    पुनमको दिदीको विवाह सोल्मामा भएको थियो । उनी दिदीको घरमा आएको बेला रामकुमारसँग चिनजान भएपछि विवाह बन्धनमा बाँधिएकी हुन् । विदेशमा रहँदा ‘श्रम गरे आफ्नै ठाउँमा केही गर्न सकिन्छ’ भन्ने सिकेकी पुनमलाई विवाहपछि त्यही सिकाई जीवनोपयोगी बन्न पुग्यो ।

    रामकुमार र पुनम दम्पत्ती सोल्मामा कहलिएका किसान हुन् । उनीहरुले हिउँदे र वर्षे सिजनमा करिब १२ रोपनी जग्गामा खेती लगाउने गरेका छन् । पुनम विहान खानपिनको काम गर्छिन् । खाना खाएर छोरीलाई स्कुल पठाउँछिन् । घरायसी काम सकेपछि मिलेको फुर्सदमा श्रीमानलाई खेतीपातीको काममा सघाउँछिन् । अहिले पनि उनीहरुको बारीमा लहलह फुलकोभी छ ।

    घर वरपरका बारीमा चाइनिज लसुन, प्याज, टनेलभित्र काँक्रा लगाइएको छ । राई दम्पत्तीले २ वर्ष अघिदेखि लोकल कुखुरा फर्म पनि चलाइरहेका छन् । आँगन नजिकै बनाइएको पोखरीमा लगाइएको माछालाई पनि उनीहरुले आम्दानीको श्रोत बनाएका छन् ।

    उत्पादित तरकारी कहिले पुनमले कहिले रामकुमार दिक्तेल बजारको शनिबार र बुधबार लाग्ने हाटमा पुर्‍याउँछन् । कतिपय तरकारी दिक्तेलबजारका तरकारी बिक्री केन्द्रमा खपत हुन्छ । कतिपय ठेकेदारले खरिद गरेर पनि बजारमा लैजाने गरेका छन् । नेपाली सेनाले समेत उनीहरुको तरकारी लैजाने गरेको दम्पत्ती परिवारको भनाई छ ।

    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १३:१७:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको