कुरा पद्धति विकासको 

कुरा पद्धति विकासको 

रोदिक खबर

२२, जेठ २०७८
  • 4.6K
    SHARES
  • कुरा पद्धति विकासको 

    गत बजेट वक्तव्य पछि सामाजिक सञ्जालको भित्ताभरी असरल्ल रुपमा टिका टिप्पणी, आलोचना समालोचना, गाली गलौच, सत्तरोसराप, व्यंग, घोचपेच, विरोध, भत्र्सना जस्ता कुराले खुबै चर्चा परिचर्चा पाए । कसैले सत्ता र सरकारको बिरोध गरे त कसैले पेशागत संघ संगठनका उपल्लो तहका मञ्चहरुको पनि खोइरो खन्न कुनै आइतबार बारेनन् । कसै कसैले माथिल्लो निकायका निजामति कर्मचारीलाई समेत गाली गर्न भ्याए ।

    कसैले शिक्षा मन्त्री र अर्थ मन्त्री समेतलाई गाली गरेर मनको कुण्ठा र मुखको तीतो ओकले । धेरै जनाले राजनितिक पार्टीलाई पनि तिखो व्यंग प्रहार गरे यो पनि स्वभाबिक नै थियो । अहिले साइबर भेला र संचारको माध्यमबाट पेशागत संरक्षण मञ्चलाई पार्टीबाट उधिनेर विशुद्ध रुपमा पेशागत हकहित र अधिकारको लागि मुकाबिला गर्न र यसको रक्षाको लागि कुनैपनि मोलाहिजा नगरीकन र कुनै पनि पार्टीको झण्डा नबोकीकन मात्र शिक्षक भएर विरोध गर्ने कुरामा मतैक्यताको लागि संसार भर छरिएर रहेका तमाम शिक्षकहरुको एकीकरणको लागि साइवर सञ्जाल बनिदै छ ।

    यो राम्रो काम हो तर ढिला हुन लागिसकेको छ, र पद्दति त्यति मिलेको भने छैन । हरेक पेशा व्यवसायको आफ्नै छुट्टै किसिमको ट्रेड युनियन छ र यसले पेशागत हकहित र अधिकारको लागि जुनसुकै कार्य गर्नको लागि पनि पछि परेको छैन । शिक्षकको पनि हकहित र अधिकारको लागि बुलन्द आबाज निकाल्नको लागि स्थानीय, जिल्ला तथा केन्द्रिय स्तरमा साझा मञ्च शिक्षक महासंघको निर्माण भई अहिलेसम्म शिक्षकको हक र अधिकारको लागि विभिन्न काम गरिरहेको कुरा सबैमा जग जाहेर नै छ ।

    यसले शिक्षकका तल्लो तहका साझा समस्याहरु सम्वन्धित निकायमा पु¥याउने सेतुको काम गरिरहेको छ यदि यो महासंघले सम्वन्धित निकायमा आफ्नो आबाज नपु¥याएको भए आज तमाम शिक्षकहरु यो हैसियतमा रहदैन थिए । आज जे जति सेवा सुविधाहरुको उपभोग गर्न पाइरहेका छौं,यसको श्रेय छाता संगठनलाई नै जान्छ, किनभने व्यक्तिगत भन्दा संस्थागत आवाज र मागको सुनुवाइले अर्थ राख्छ ।

    हुन त तल्लो तहका तमाम शिक्षकहरुले बैचारिक, आर्थिक र नैतिक सहयोग, सुझाव र सल्लाह पक्कै दिएका छन । किनकि एउटा भवन निर्माणको लागि एउटा इँटाको भूमिकालाई कम आक्न कदापी मिल्दैन । वर्तमान बजेटको सन्दर्भमा अलि रुष्ट र आक्रोसित शिक्षकहरु देखिएको छ । यहाँनेर के बुझ्न आवश्यक छ भने शिक्षकहरु तलव नबढेको या थोर बढेको कुरामा असन्तुष्ट भने अवस्य होइनन । समस्त शिक्षकहरुको दुखाइ भनेको विभेदकारी नीति तथा कार्यक्रम र बजेटमा बिनियोजित पेशागत बिभेदीकरणको ।

    नियमनकारी निकायले पनि यो कुरा बुझन आबश्यक छ कि शिक्षक त्यतिकै असन्तष्ट र आक्रोसित बनेका होइनन । शिक्षण पेशा एउटा त्यस्तो कारखाना हो जुन कारखानाबाट कुशल राजनितिज्ञको उत्पादन भएको छ, डाक्टर पाइलट र इन्जिनियरको उत्पादन भएको छ, बैज्ञानिक र बिशेषज्ञको उत्पादन भएको छ त्यसैगरि अर्थशास्त्री, न्यायकर्मी, साहित्यकार पत्रकार, समाज शास्त्री, प्रशासक उद्योगपति, निजामती कर्मचारी र अन्य क्षेत्रमा आवश्यक पर्ने सबैखाले दक्ष जनशक्तिको उत्पादन यहि शैक्षिक कारखानाबाट भएको हो र त्यो कारखानाको कुशल कालीगढ भनेका मात्र शिक्षक हुन ।

    एक पटक जर्मन चान्सलर एन्जेला मर्केल सँग बिशिष्ट भि.आइ. पी. हरुले भनेछन तपाईँ किन शिक्षकको स्थानमा हामीलाई राख्नु हुन्न ? तव उहाँको तर्क थियो कि तपाईँहरु जस्ता बिशिष्ट ब्यक्तिको निर्माता त्यो महान शिक्षकको स्थानमा तपाईँहरुलाई म कसरी राख्न सक्छु र ?

    नेपालमा त शिक्षकले नत कोरोनाको भ्याक्सिन सहज रुपमा पाएका छन, नत शिक्षक अस्पताल पाए, नत स्वास्थ्य बिमा र दुर्घटना बिमा को सुविधा पाए, न त सन्ततिको उच्च तथा प्राविधिक शिक्षाको लागि शिक्षक विद्यालय पाउन सके, या त सस्तो ब्याजदरमा आवास कर्जा नै पाए, नत तलव सहितको दश दिने आन्तरिक पर्यटन बिदा नै पाए । नत नियमित सरुवा बढूवाको सहज सुबिधा भोग गर्न पाएका छन ।

    मर्यादाक्रममा शिक्षकको नामो निशान कहिपनि छैन, नत शिक्षक सेवा आयोगलाई संबैधानिक अंगको रुपमा राखिएको छ । चुनाबको कार्यक्रममा एउटा मा.शि प्रथम वर्गको शिक्षकलाई राजपत्र अनंकित कर्मचारी सो सरह बनाई मतदान अधिकृतको रुपमा खटाएर पठाउने काम हुन्छ ।

    हरेक शिक्षकको आफ्नो आफ्नो राजनीतिक आश्था अवस्य हुन्छ र उसले सधैभरि बफादार रुपमा आफ्नो पार्टीप्रति नैतिक समर्थन र सहयोग गरेर पक्षको व्यक्तिलाई बिजयको लागि सोपानको काम गरेको हुन्छ । हो उसको ठूलो र गम्भिर गल्ति यहिनेर भएको रहेछ ।

    समाजमा झिना मसिना मुद्दा मामिला बहस कचहरी हुन्छ, शिक्षक, बिबाह बटुलो हुन्छ शिक्षक, मरुमारु हुन्छ शिक्षक, झै झगडा हुन्छ शिक्षक ,सभा सम्मेलन र बैठक हुन्छ शिक्षक, चुनाब आउछ,पार्टीगत सहजीकरणको लागि शिक्षक, निर्माण विकासका कार्यको सहजीकरणको लागि शिक्षक, जनगणनाको कार्यक्रम हुन्छ सहयोगको लागि शिक्षक ल हेर्नुस त शिक्षकको बहु आयामिक भूमिका । राज्यको तर्फबाट अपहेलित, विभेद गरिएको, सबैले तोक्चे लगाएको को हो त ? यसको पनि सजिलो जबाफ शिक्षक ।

    आखिर किन सबैले शिक्षकको मान मर्दन मात्र गरेका त ? यसको प्रमुख कारक तत्व को हो त? यसको पनि सटिकजबाफ हो शिक्षक । मुलत यहाँनेर दुईवटा उक्तिहरुलाई राख्दा मनासिब होला “भाइ फुटे गवार लुटे, फुटाउ र राज गर” वास्तबमा भएको पनि यहि हो हामी शिक्षकहरु राजनीतिक रुपमा कित्ता बन्दी भएका छौं, हामी आफ्नो आस्थागत पार्टीको इमान्दारी र लैनो गाई जस्तै अन्ध भक्त कार्यकर्ता भएका छौं, महासंघको निर्माणमा विभिन्न आस्थाका पार्टीहरुको प्रतिनिधि स्वरुप चयन हुन्छौं र त्यहाँको गोप्य कुरालाई बाहिर सम्वन्धित पार्टी सामु पर्दाफास गर्छाैं, अनि उनिहरुका इसारामा आङ कनाएर छारो उडाउछौं । सानो लोभ र स्वार्थमा आफुलाई बिक्री गछौं र मत विभेद र आन्तरिक कलहको विजारोपण गर्छौ ।

    त्यसकारण हाम्रो अडान र अन्तिम विरोध तुहिन्छ अनि हाम्रो साझा समस्याहरु यथावत रहिरहन्छन । देशको विकासको लागि र देशलाई सहि गन्तव्यमा पुर्याउनको लागि राजनीतिक पार्टीको ठूलो भूमिका हुन्छ, बहुदलिय व्यवस्था र जनअधिकार प्रजातन्त्रका विशेषताहरु नै हुन । हामीले कुनैपनि राजनीतिक पार्टीमा आस्था राख्नु हुदैन भन्ने होइन, मताधिकार को त संविधानमै उल्लेख गरिएको छ ।

    बहुदल बिनाको प्रजातन्त्र त निरंकुश नै भइहाल्छ तसर्थ राजनीतिक पार्टीहरु प्रजातन्त्रका पर्याय हुन । हामी मनले खाएको र आफ्नो आस्था भएको एउटा पार्टीमा रहुँ यो ठूलो कुरा होइन, ठूलो कुरा त यो हो कि हाम्रा पेशागत हक हित र अधिकारको खातिर हामी सबै शिक्षकहरु एक भएर एउटा साझा धारणा बनाएर जाऔं न, बरु आफ्नो आस्थाको राजनीतिक पार्टी सँग सबैलाई हित हुने खाल्का प्रस्तावहरु पारित गराऔं, हाम्रा यी मागहरु पुरा नभए हामी आन्दोलित हुने छौं भनेर व्यक्तिगत र पार्टीगत स्वार्थलाई त्यागेर साझा शैक्षिक सवालका लागि एक ढिक्का बनौं ।

    पेशागत मर्यादालाई बिर्सेर पार्टीगत हितको लागि काम अवस्य नगरौं। राजनीतिक पार्टीमा नैतिक समर्थन गौण भएता पनि पेशागत कुरालाई प्रधान ठानेर काम गर्नु पर्ने अबस्था आएको छ । शिक्षकको एउटा सामान्य समस्या परेको बेला हामी त्यो शिक्षकको राजनितिक आस्था र पृष्ठभूमि बिचारेर मात्र धारणा बनाउछौं हाम्रो गल्ति यहिँनेर भएको छ ।

    कुनै शिक्षकको पिरमर्का र समस्यामा हामी तुक विनाको र राजनीतिक झलक आउने किसिमबाट सामाजिक सञ्जालमा टिका टिप्पणी बहस र आलोचना समालोचना गर्छौ, पेशागत हक हितमा लागेर काम गरिरहेका छाता संगठनलाई सत्तरो सराप र गाली गलौज गर्छौं,  वास्तविकता बुझ्ने हामीमा धैर्यता हुँदैन ।

    यो हाम्रो कम्जोरी पक्ष हो । सहि लाई सहि र गलतलाई गलत भन्ने हाम्रो परिपाटी र बुझाइ कम भएको छ । हामी राजनीतिक दलमा आस्था राखौं, नैतिक समर्थन र सहयोग पनि गरौं तर शिक्षकका साझा समस्याहरुको खातिर एक ढिक्का भएर लागौं आफ्ना आफ्ना आस्थाका पार्टीसँग पनि आबाज बुलन्द गरौं, माग राखौं, दवाव दिने काम गरौं, पार्टीगत रुपमा लबिङ गरौं पेशागत कुरालाई सामुहिक रुपमा एउटै साझा धारणा बनाएर अघि बढौं यो पो हो त पद्दतिको विकास अनि शैक्षिक समस्याको निकास । (लेखक खत्री भगवती दिनानाथ मा.वि खोटाङबजारका शिक्षक हुन ।)

    प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - १२:०६:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको