मानबहादुर खत्री :
कमान सिंह चौतारामा बसेर फोक्सोभरि शुद्ध अक्सिजन लिन्छ, गथासो पोख्छ थकान मेट्दै दुःख विसाउँछ । नगिचबाट धित मरुन्जेल प्रकृतिको सुन्दर दृष्यावलोकन गर्छ । प्रकृति सफा र खुशी छ, जहाँ कुनैपनि प्रदुर्षणको क्लेस पनि छैन । जसले हजारौं जनावर चराचुरुङगी र किट पतङ्गहरुलाई विनाभेदभाव आश्रय दिएको छ । कञ्चन नदी आफ्नै रफ्तारमा बहिरहेको छ भने शुद्ध हावा यत्रतत्र सबैको फोक्सोमा उपस्थित भइरहेको नै छ ।
यावत जीव जिवात्माहरु खुशीसाथ प्रकृृतिको बक्षस्थलमा खुला रुपमा विचरण गरिरहेका छन । यहाँ प्राकृतिक न्यायको सिद्धान्त समानरुपमा लागू भएको छ । सबैले फोक्सोभरि शुद्ध हावा लिन पाएका छन भने धित मरुन्जेलसम्म चिसो र शुद्ध पानीले प्यास मेटाउन पाएकै छन । समान रुपमा प्रकृतिमाथि हक भोग गरिरहेका छन ।
धनी, गरिव, होचो, अग्लो, बलियो, दुब्लो, हुनेखाने तथा हुँदा खानेको बिचमा खासै फरक छैन । यस्तै सोचेर उ त्यो फलैँचामा लामो समय सम्म विश्राम लिन्छ र सुस्ताउँछ । छेउमा रहेको तानमा बुनेको उनीको झोला भित्रबाट भुटेका मकै चपाउदै अनि साधेँको गुन्द्रुक र छेवैको मुलको पानीले प्यास मेटाउँछ र बाटो लाग्छ । उहि गन्तब्य चुम्नको लागि जहाँ उ हज्जारौं सपना बोकेर हिडेको छ ।
चैतको गर्मिलो समय, पसिनाले उसको आङ निथ्रुक्क भिजेको छ तर वनबाट आएको हल्का सिरेटोको झोक्काले उसको पसिना सुक्नको लागि फ्यानको भन्दा गतिलो काम गरिरहेको हुन्छ । दाल भात तरकारी र दही, मोही खाएको र सधैंभरि श्रम गरेकोले उसको शरिर मजबुत छ भने पाखुरी बलिया नै छन् ।
चौताराबाट खसेको यमानको फराकिलो ढुङ्गो एक्लै उचालेर उसले फलैँचा बनाइदिएर सानो भएपनि धर्म कमाएर उकालिन्छ त्यहाँबाट । आँगनको बिचमा दश कोठे मकैको थाङग्रो,गोठभरि लैना भैंसी, खोरमा खशि बाख्रा, भकारी भरि नयाँ तथा पुरानो अन्न, गरियो भरि घिउ तेल, बोरा भरि नुन उसलाई खान लाउनको लागि कुनै पनि तक्लिफ छैन । आलोपालो गरि बर्षे खेती लगाउछन त हिउँद लागे पछि सबै मिलेर बाली उठाउछन् त्यहाँ धनी गरिब तथा उच्च निचको थोपा पनि मिसिएको छैन् । जातीय भेदभाव र छुवाछुतको क्लेस पनि छैन् । मर्दा पर्दा धर्म कर्म मेलापात सबै काममा गाँउलेहरु मिलेर सहकार्य गर्छन यो नै त्यो गाँउको खाटीँ परिचय हो ।
बाटोको खर्चको लागि खाजा सामल र घाट तिर्न र गाडी भाडाको लागि उसले भित्रि जेवमा चार सय रुपैयाँ चेपेर लाग्छ उही ससुराली घर झापा तिर । दशैंमा उसकी श्रीमती टिका र आशिर्वाद थाप्नको लागि गएकी थिइन । लामो समयपछि गएकीले दूई महिना उनी उतै बसेकीले लिनको लागि उ आफ्ना पाइला त्यतैतिर लम्काउदै छ । मिल्ने छिमेकीलाई घरको तालाकुची जिम्मा लगाएर उ पनि केहि समय उतैतिर घुम्ने सानो योजना सहित बाटो लागेको छ ।
हिउँदको समय भएकोले कामको त्यत्रो चापाचाप पनि नभएको तथा फूर्सद भएकोले उसले केहि हप्ता उतै बिताउने योजना सहित बाटो लाग्छ । हिडेको सातौं दिनमा थाकेर लखतरान भइ उ ससुराली घर पुग्छ । साइनो अनुसार ढोगाभेट र आराम कुशलताको विनिमय पश्चात मेजमानी खाएर सबै जहानहरु आधा रात सम्म भलाकुसारी गर्छन । दुःख साट्छन्, खुशी बाड्छन । उनिहरु सबै खुशी छन, स्वार्थको रतिभर पनि मिसावट छैन, धनि गरिबको, तराई पहाडको, शिक्षित अशिक्षितको सुइँको पनि त्यहाँ देखा पर्दैन ।
आहा कति मिठो साइनो र सम्वन्ध ? साना बालबालिकाहरु पनि आफूभन्दा ठूलाको कुराहरु रात भरि सुनेर बस्छन, प्रशंग अनुसार चलेको कुरामा सहि थाप्छन र आफ्नो विचार पनि बेला बेलामा राख्छन, अनुशासन र मर्यादाको पाठ सिक्छन, संस्कार सिक्छन यो पो हो त पहिलो पाठशाला ती बालबालिकाहरुको लागि । रातभरि श्रीमान श्रीमती दःुख सुखका बात मार्छन, गाँउ र शहर बिचको फरक कुरा खोतल्छन अनि तौलिन्छन । भोलिपल्ट उनिहरु रमाइला ठाँउहरु धित मरुन्जेलसम्म घुम्ने योजना बनाएर निदाउँछन् ।
लामो बाटो हिडेकोले उ बिहान लामो समयसम्म ब्यूँझदैन तर गणेशको पूजामा बजाएको शंखको आवाज र शुद्ध घिउँमा हालेको धुपको बासना नाकमा पर्दा उसको निन्द्रा बिथोलिन्छ उ उठेर प्रात नित्यकर्म सकेर सबै जनाको साइनो अनुसारको ढोगपछि चियाको साथमा जौ को सातु हाँसी खुशी खाएर उनिहरु आफ्नो आफ्नो काममा तितर वितर हुन्छन् । कोही खेतीतिर कोही पसलमा दुध लिएर कोही भान्सामा त कोही पढाइतिर । बिहानको करिब दश बजेतिर सबै भेला भएर हसिलो मुद्रामा वरिपरि बसेर मिठो मसिनो खाइ छोटो समय आराम गर्छन् ।
कमान सिंह आफ्नो ससुरा बा सँग घुम्नको लागि निस्कन्छ र आँखा अघाउन्जेससम्म तराइको सुन्दर फाँटहरु नियाल्छ , नरिवल र सुपाडीका तथा आँपका बोटहरु हेर्छ राडी बिछ्याए जस्तो देखिने गहुँ बाली नियाल्छ । करिब दुई महिनाको बसाइपछि ती चखेवाका जोडीहरु सबैसँग बिदावारी भएर पहाड उकालिन्छन् ।
यता गाँउमा विकासको मिरमिरे बिहानीले आफ्नो आभा फैलाउन थालेको हुन्छ, गाँउका हरेक घरघरमा सडकको व्यवस्था भई सकेको हुन्छ अनि । छहारी र सितल ताप्ने बर पीपलका रुखहरु काटिएर उजाड बनाइएको हुन्छ । गाँउलेहरुले बढोे दुःखले निर्माण गरेको धर्मशाला चौतारा र पाटी पौवा समेत विगारेर डोजर लगाइ गाँउको भूगोल थिलथिलो बनाइसकेको हुन्छ ।
मेसिनको कम्पनबाट पानीका स्रोतहरु सुकेर सारा गाँउ काकाकुल बन्दै जान्छ । खेती योग्य जग्गा र जंगल मासिएर जताततै बाटोको सञ्जाल बन्छ । अब गाँउमा आयातित खाद्यान्न, सब्जी र फलफूल आएर स्थानीय उत्पादनलाई विस्थापित गर्न थाल्छ । बस्तीमा यस्तो खाले परिर्वनले नयाँ सोँच र रुपान्तरण गर्न थालेको हुन्छ । यसले गाउँको सारा दुःखलाई नास गर्न थाल्छ ।
ग्रामिण इलाकामा अब खेतीपातीको काम प्राय समाप्त नै हुन जान्छ । मानिसहरुमा अल्छी तथा कामप्रति नैराष्यता हुन्छ । सबै सबै रोजगारमा लाग्छन् अनि दुई तीन दिनसम्म काम गर्दा महिना दिनसम्म खान पुग्ने समानको जोहो गर्न कुनै तक्लिफ हुदैन । एक घर एक रोजगारको अवधारणा भएकोले हरेक घरका कम्तिमा पनि एक जना ठेक्का पट्टामा लाग्दा गाँउको आर्थिक अवस्थामा अग्रगामी छलाङ मर्छ ।
हरेक बस्तीमा भवन पुल पुलेसा, विद्युत अनि सडकको पहुँचले जोडेर अबको दिनहरुमा सुख र विकासको मिरमिरे बिहानीले चुमिसकेको हुन्छ । कमानसिंह पनि यस्तो द्रुत गतिमा भएको विकासको कार्यले मख्ख परेको हुन्छ । नपरोस पनि कसरी हिजोको दिनहरुमा उसले बोकेको नुनको भारी र नाम्लाको छाप उसको निधारमा अझै पनि देख्न सकिन्छ अनि उसका हत्केलामा उठेका ठेलाहरु ताजै छन् ।
फरक यति मात्र हो कि उनीहरुको गोठमा गाई वस्तुहरु आज छैनन र भकारीमा हिजोको जस्तो अन्न अब बाकी छैन र उनीहरुका खेतबारीहरु बझिएका छन र अल्छीपनाले शरिरमा राज गरिसकेको छ । हिजो जैविक खानाले दिएको स्वाद र शक्ति आज उनीहरुको शरीरमा छैन । शरीर पाउरोटी जस्तो भुक्क फुलेको छ तर ताकत भने छैन । गाँउमा उखुम गर्मी बढेको छ, पानीका स्रोतहरु सुकेका छन, भेला भएर गफगाफ गर्ने शितल चौतारीहरु मासिएका छन अनि बस्तीहरु भित्रि मधेस झैं भएको छ । सबैमा हाइ सञ्चो भएको छ ।
वर्षात ऋतुको आगमनसँगै गाँउमा विपती आइलाग्न थाल्छ हिजो मेसिनले कम्पित जमिन सानो तिनो वर्षातको कारण पहिरोको उच्च जोखिमा पर्न थाल्छ । हेर्दा हेर्दै गाँउका केहि घरहरु चिप्लेर नदीमा मिसिन थाल्छन् । सडकको नामो निशान मेटिन्छ अनि नदी छेउका बस्तीहरुमा बाढिका कारण डुबान हुन्छ । अव आयातित समान ल्याउने सडक नभएर गाँउमा अनिकाल सुरु हुन्छ, बिजुलीका पोलहरु ठाँउ ठाँउमा लडेर अवरुद्ध बन्छ ।
पिउने पानीको चरम अभावले गाँउ तड्पिन थाल्छ । प्रकृति माथिको अस्वभाविक दोहनको कारण गाँउमा विभिन्न रोग व्याधी र समस्याले गाँज्न सुरु गर्छ । बाध्यताले मानिसहरु हिजोको अवैज्ञानिक र मापदण्ड बिहिन भएको द्रुत विकासे गतिलाई धारेहात पारेर सराप्दै पुर्पुरोमा हात राखी झोक्राउन विवश हुन्छन् ।
जग्गा जमिन बाझिएको छ, पानीका स्रोतहरु सुकेका छन, कुलो तथा नहर भत्किएको छ, खेतबारीमा बलौटाले पुरेको छ, रुखिएको छ गोठका जनावरहरु मासि सकिएका छन् । गााँउमा कोकोहोलो मात्र सुनिन थालिएको छ । यसले कमानसिंहको मुटु भकानिएर आउछ, अनयास बिगत सम्झिन्छ, आगत लाई धिकार्छ । (लेखक खत्री भगवती दिनानाथ माध्यमिक विद्यलय खोटाङबजारका शिक्षक हुन् ।)