सेकुवाको बिल भर्न सक्दैनौ
बियरको बिर्को खोल्न सक्दैनौ
त्यसैले मानिसको भिडमा तिमी नितान्त एक्लो छौ।
तिमीलाई सुन्ने साथी भेट्दैनौ,बेदनाको साथी भेट्दैनौ,
जति बोल्नु छ कक्षाकोठामा बोल।
बाहिर तिमीलाई सुन्ने भेट्दैनौ,
मनको बह बिसाउने साथी तिम्रा ,
शुभ चिताउने आफन्त तिम्रा,
कक्षामा नै तिमीलाई सुनिरहन्छन।
पाँच बर्ष अघिको पहिरन किन फेर्दैन भनि गुनिरहन्छन।
चिच्याएर पढाउने तिम्रो स्वर,
कक्षा बाहिर मलिन बन्छ।
कालो पैसावालाको ,
तिमी खिशि टयूरी बन्न सक्छौ,
त्यसैले बाहिर तिमी चुप लाग,
प्रशंग मिलाएर कक्षा मा नै पोख।
तिमीलाई उनिहरुले सुनिदिने छन,
चकको धुलो खाएको तिम्रो शरिर,
सिमेण्ट खानेले लडाउने डर छ यहाँ
लाइसेन्सका ठेकेदारहरु ,
भन्सारका छलीहरु,
राजश्व घटाउनेहरु,
ठेक्काको सेटिङ गर्नेहरु मोटाएरको देखेर
रहर भो नगर,
तिम्रा आत्माले तिमीलाई रोक्ने छ ,
गिटी सिमेण्ट तार जाली ढुङ्गामात्र होइन
यूरिया र अलकत्र समेत पचाउने हरुको शक्ति देखेर
हिडेको गोरेटो पछ्याउन नखोज।
थाहा छ ?
तिमी सधैं घोत्लिएर एउटै हिसाब दोहोर्याइ रहन्छौ
दाल चामल औषधि र नुनको ।
राम्रो स्कुल,राम्रो शिक्षक खोजीरहने भिडमा ,
शिक्षक तिमी बन्नु हुन्न भन्ने अर्ती घरघरमा सुनिरहन्छौ।
मान्छे मरेछ भनि हेर्न गएको ,मास्टर पो रहेछ भन्नेहरुले,
तिमीलाई मान्छेको जमातबाट झिकिदिन सक्छन।
उपदेश र आदर्शका कुरा कक्षामा मात्र गर ,
बाहिर त तिमी थर्किन सक्छौ।
सोच बदल्नु माडसाप भनि
डनको उपदेश पाउन सक्छौ
निरास किन?
सुन्दर पबित्र पेशामा छौ
जाने सिकेका कुरा एकनासले बाढेका छौ
सानो गृहस्थी तिर फर्केर भन्न पाउने छौ
मेरो सृष्टि मेरो मेहनत।
हाम्रै करले मोटाउनेहरु
भ्रष्टाचारको घडेरी जोड्नेहरु
सेटिङमा महल ठड्याउनेहरु ,पिसाबको न्यानोमा रमाइरहदाँ
तिम्रो सुकुलले,
जीबनपर्यन्त एकनासे न्यानो दिइरहन्छ
एक पटक,
चिहान अर्थी र चितालाई हेर
अनि
अन्तिम आबश्यकताको मूल्य तोक
एक दिन,
महल हेर्दा खसेको टोपी टिप्दै भन्ने छौ
जे छ मेरै ठिक छ, जे छु ठिकै छु ।
(लेखक निरौला, श्री बाल कल्याण मा.बि, झापाका शिक्षक हुनुहुन्छ ।)