मानबहादुर खत्री ।
अहिलेको विज्ञान र प्रविधिको चरम विकास र सूचना तथा सञ्चारको द्रूत विकासकोे कारणबाट मानिसहरुलाई आफ्ना हरेक दिनचर्याहरु बिताउनको लागि सहज भएको छ । हाम्रा हरेक कार्यहरु मेसिनको कारणबाट छिटो छरितो र सस्तो तथा सहजरुपमा भइरहेका छन्, जसको कारण तमाम मानिसहरुलाई अठार घण्टा आराम अनि मात्र छ घण्टा काम भएको छ ।
अहिले मानिसहरु फुर्सदिलो हुनुका साथै आफनो दिनचर्यालाई प्रसिधिसँग डो¥याउदै गइरहेका छन । विकसित देशका शहरमा मात्र नभएर अविकसित देशका गाँउ गाँउमा समेत प्रविधिको प्रचुरमात्रामा प्रयोग भइरहेको छ । यसको लागि विज्ञान अहिले बरदान सावित भएको छ ।
मानिसहरु अहिले काम भन्दापनि आफनो सौन्दर्य र बिलासी जीवनको बारेमा बढि ध्यान दिन थालेका छन् । सामान्य खान पिन देखि लिएर श्रृँगारिक तथा सौन्दर्यका कुरामा पनि हरेक मानिसहरु अलि ध्यान दिन थालेका छन् । बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा खासगरि छोरा मानिसहरु भन्दा तुलनात्मक रुपमा छोरी मानिसहरु एक तह अगाडि छन् । एउटा सामान्य कलेज पढ्ने विद्यार्थीको उदाहरण दिने हो भनेपनि केटाहरुको तुलनामा केटीहरु अलि श्रृँगार पटारमा ध्यान दिएको कुरा देख्न सकिन्छ । यो एउटा सामान्य प्रतिनिधि उदाहरण मात्र हो ।
मानिसहरु अहिले आफूलाई सुन्दर राख्नको लागि जस्तोसुकै कार्य गर्नपनि रत्तिभर संकोच मान्दैनन् । स्वास्थ्यलाई प्रतिकुल असर पर्ने किसिमका सेन्थटिक तथा कस्मेटिक समानहरुको बढ्दो प्रयोगदेखि लिएर छालामा ट्याटु खोप्ने जस्ता कार्यहरु गर्छन । अहिले पश्चिमा संस्कृतिमा फस्टाएको व्यापार भनौ या बाध्यता वा शौख या रहर छ सरोगसी वा नेपाली भाषामा प्रतिनिधि आमा ।
यो कसैको रहरमा, कसैको स्वास्थ्यलाई बचाउने विधि वा कसैको सानो आम्दानीको स्रोत पनि भएको छ । केहि देशहरुमा यो कानुनी रुपमा बर्जित भएतापनि केहि देशमा त कानुनले मान्यता दिएको पनि सुन्न आएको छ । नेपालको पनि केहि ठूला शहर भित्र लुकिछिपी यो धन्दा हुन्छ भन्ने सुनिन्छ तर अति गोप्य रुपमा मात्र ।
सबैले बुझ्ने भाषामा सरोगेसी भनेको बच्चा चाहने कुनैपनि जोडिले आफू सन्तान उत्पादनको लागि सक्षम भएतापनि स्वास्थ्य वा अन्य कुनै कारणले आफुले बच्चा नजन्माइ श्रीमानको बीर्य वा श्रीमतिको डिम्ब, बैंकबाट किनेको डिम्ब वा बिर्यको प्रत्यारोपण गरिन्छ ।
यदि श्रीमान सन्तानको लागि सक्षम छ भने श्रीमानको बिर्य तथा डिम्ब बैकबाट किनेकोे डिम्ब र यदि श्रीमती सन्तानको लागि सक्षम भएको अबस्थामा श्रीमतीको डिम्ब तथा बिर्य बैकबाट किनेको बिर्य सरोगेट आमाको पाठेघरमा प्रत्यारोपण गरेर बच्चा जन्माउने प्रक्रियालाई सरोगेसी भनिन्छ ।
यसमा बच्चा चाहने पुरुष र महिलाको प्रत्यक्ष रुपमा शारीरिक सम्पर्क हुदैन । आफूले जन्माएको बच्चामाथि यस्ता महिलाको कानुनी अधिकार हुदैन र डि एन ए समेत मेल नखान सक्छ । यदि बच्चा सकुसल तथा स्वस्थ्य नजन्मेमा त्यो बच्चाको जिम्मा प्रतिनिधि आमाले नै लिनु पर्दछ ।
यसो हुदाँ कोख बोक्ने महिला आर्थिकरुपमा ठगिने, उनको स्वास्थ्य बिग्रने तथा बिकलाङ्ग बच्चाको लामो समय सम्म स्याहार गर्नु पर्ने बाध्यता हुन सक्छ । यसले धेरै विकृति पनि ल्याएको छ । धर्मको नाममा, परोपकारको नाममा, आर्थिक प्रलोभनको कारण तथा अन्य बाध्यता र विवसताको कारण यो व्यापार आजभोलि फस्टाइरहेको छ ।
केहि धनाड्य महिलाहरु जो आफ्नो सुन्दरतालाई बचाउनको लागि तथा लामो समयसम्म कार्यालयमा काम गर्नको लागि यो कार्य गर्दछन भने उता आर्थिक रुपमा निम्न वर्गका महिलाहरु भने हात मुख जोड्ने समस्याको हल गर्नको लागि पनि यो कार्य गर्नको लागि बाध्य भएका छन ।
केहि महिलाहरु त आफ्नो स्तन झोलिनबाट बच्न तथा पेटको धर्सा हुनबाट जोगिन र सधैभरि सुन्दर रहिरहनको लागि आफ्नो बच्चालाई स्तनपान नगराउने तथा पेट चिरेर बच्चा निकाल्ने र भरसक आफू बच्चा नजन्माई भाडामा अरु महिला खोज्नेकार्य पनि गर्दछन् । यसले स्वास्थ्य बचाउने भन्दा पनि उनिहरुको स्वास्थ्यमा प्रतिकुल असर पार्ने कुरामा अनभिज्ञ छन । यस्तो कार्यले स्तन क्यान्सर तथा अन्य रोगहरुलाई प्रसय दिने कुराको बारेमा स्वास्थ्य बिद्हरु वकालत गर्छन ।
स्वास्थ्य मात्र नभएर यसले कानुनी रुपमा पनि समस्या ल्याउने गरेको यथार्थ कानुनी व्यवसायीहरु बताउछन जस्तो, यदि बच्चा पूर्णरुपमा अस्वस्थ भएमा कस्ले जिम्मा लिने ? यदि दम्पती मध्ये एक जनाले मात्र यसको सम्झौता गरेको र अर्कोले यसलाई अस्वीकार गरेमा के गर्ने ? यसको व्यवस्थापनका कानुनी प्रावधानहरु के के हुन ? प्रतिनिधि आमाको सामाजिक संरक्षण कसरी गर्ने ? उसको महिला अधिकारको हनन भएमा कसले कानुनी लडाइ लडिदिने ? यसको नियमनकारी निकाय कुन हो ? विवाद भएमा मुद्दा हेर्ने अधिकार क्षेत्र कुन निकायमा रहने यस्ता तमाम प्रश्नहरुको चाङ लाग्ने गर्दछ ।
अहिलेको समयमा यो स्वास्थ्यको हिसाव तथा कानुनको नजरमा एउटा गम्भिर समस्याको रुपमा रहेको छ जस्लाई समयमा नै किनारा लगाउन नसकेको खण्डमा आउने दिनहरुमा यस्ले अझ ठूलो समस्या निम्त्याउन सक्छ । यो एउटा आर्थिक रुपमा पीडित, निमुखा महिलाको गरिबी तथा बाध्यता माथि भएको उदाङगो व्यापार हो यसको खुलेर विरोध गर्नुका साथै यसलाई बन्देज गर्नु नितान्त आवश्यक छ । (लेखक खत्री भगवती दिननाथ मावि खोटाङबजारका शिक्षक हुन् ।)