मेरो बुझाईमा मानव जीवन हो एउटा यात्रा । यात्रा कहिले अचाक्ली राम्रो हुन्छ त कहिले निरस । हरेक मानिसको उद्देश्य हुन्छ जीवन सुखद् र आनन्दमय बनाउने तर गन्तव्य छ अनिश्चित । मेरो गाउँको दाजु महन्त राई जो दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका वडा नं. ७ को वडा अध्यक्ष भन्नुहुन्छ यो जीवन मेला भर्न गएको एउटा मानिसको भोगाइजस्तै हो ।
जहाँ कसैले रौसरंग गर्छ भने कसैले व्यपार । कसैले भरियाको भूमिका पाएको हुन्छ त कसैले बजार व्यवस्थापक । भनाइको तात्पर्य मेला भर्न जानेको वीचमा एक रुपता हुँदैन उनिहरूको गन्तव्य र उद्देश्यमा । मैले यहाँ लेख्नै पर्छ र सबै मानिसले बुझ्नै पर्छ महन्त राई जो जीवन यात्राको एउटा पाठशाला हो । न आलिसान भवन बनाउन लोभ छ न कसैले अमन चयन गरेकोमा लालच । न छक्का पञ्जा छ न षड्यन्त्र । सिधा छ उहाँको कुरो लेखेभन्दा बढी कहिल्यै कसैले पाउँदैन ।
त्यसैले जति पाउँछौं त्यसैमा रमाउँ । उद्देश्य लिनु महान तर आई परेका चुनौतीसँग न डगमगाउनु । हो कतिपय मानिस महन्त राईको जीवन पद्धति देखेर केही सिक्छन् त कोही अलमलिन्छन् । न हतारो छ न आतेस , न आवेग छ न उत्तेजना । न हिउँजस्तो सुन्दर छ जीवन न ढुङ्गोजस्तो चट्टानी मन । न रुवाजस्तो नरम व्यबहार छ न थिचोमिचो गर्ने स्वभाव । छ आफ्नै शैली र मानवताप्रतिको कर्तव्य परायण । हो महन्त राईसँग गुणैगुण मात्र छैन छन् अवगुण पनि ।
तर छैन जालझेल , षड्यन्त्र , अपराधी सोच र चरित्र । छ त केवल जीवन जिउने आफ्नोपन र शैली । मैले यो आलेखमा महन्त राईको प्रसङ्ग किन जोडेको हो भने मानिसको जीवन जिउने विभिन्न पद्धतिअनुसार उहाँको उस्को आफ्नैपन र हुन्छ शैली ।
हामी सचेत नागरिकले हरेक मानिसको सकारात्मक पाटोलाई अङ्गिकार गर्ने र नकारात्मक पाटोलाई विसर्जन गर्ने हो । तर हामी विर्सन्छौँ आफ्नो कर्तव्य र जिम्मेवारी अनि बढ्छ असमझदारी । बुझ्दैनौ हामीले मैले पाउने जति पाएँ र मेरो जीवन यात्रामा प्राप्ति गर्ने पद, प्रतिष्ठा , सम्पत्तिको घैँटोको परिधी । हामीमा छ केबल रिस, राग ,असन्तुष्टि र घमण्ड । कसैलाई मस्त जवानीको घमण्ड छ त कसैलाई सौन्दर्यताको ।
कसैलाई धनदौलत त कसैलाई खानदानी प्रतिष्ठाको । भनिन्छ सुन्दर युवतीलाई खुल्ला हृदयले प्रशंसा गरिदिए प्रशन्नानुभूति हुन्छ भने हृष्ठपुष्ठ नौजवानलाई उसको वलिष्ठताको प्रशंसा । तर मानव जीवनका यी सबै अस्थायी र क्षणिक उपभोग्य बस्तु हुन् । जन्मपछि मृत्यु सुनिश्चित छ भने दरिद्रतापछि धनाड्य । म एउटा फगत राजनीतिक कार्यकर्ता । कसैकसैले प्रत्यक्ष पनि भन्छन् यो जमाना भनेको तिघ्रा र पैसा हुनेकोही । कसरी गर्ने राजनीति ? फलानो - फलानोले पैसाको बलमा सफलता हासिल गरिसके तर .........! खै..... ?
म भन्छु पैसा हुनेले पैसा दिने , समय हुनेले समय दिने , बुद्धि , विवेक र दृष्टिकोण हुनेले विचार दिने र नैतिकता हुनेले नैतिक बल दिने । जोसँग जे छ त्यही दिने तर निष्ठापुर्वक र निश्वार्थ रुपमा दिने । हरेक मानिसमा स्वार्थ हुन्छ नै तर स्वार्थ नैतिकतापूर्ण र समाजकेन्द्रित हुनुपर्छ । पैसा पैसा पैसा यी सबै अस्थायी र निराशाजनक विषय बस्तु हुन् ।
धन बनाउनलाई उसले गरेको हुन्छ मेहनत र सँगसँगै राजनीतिमा पनि पसिना बगाएर गरिरहेको हुन्छ लगानी । कसैकसैको त्यहाँ भौतिक र बौद्धिक लगानी हुन्छ र सँगसँगै आर्थिक पनि । सक्षम नेतृत्वले उसको सबल र दुर्बल दुबै पक्षको गरिरहेको हुन्छ मुल्यांकन । मानव जीवनको अपरिहार्य पाटो हो अर्थ पनि।
यसको सहि सलामत सदुयोग हुनुपर्छ र सँगसँगैमा दानवीर भएमा सम्मान पनि मिल्छ । पैसा साधन हो तर साध्य होइन । तर विडम्बनाका साथ भन्नुपर्छ एकाध मानिसको चुरीफुरी र घमण्डलाई हेरेर आजीवन सामाजिक काममा भौतिक , नैतिक र आर्थिक लगानी गर्नेको केवल आलोचना गर्ने प्रवृत्ति मौलाएको छ समाजमा ।
सँगसँगै पैसाको बलमा समाजलाई कायापलट गर्छु भन्ने कसै कसैको घमण्ड देखिन्छ पनि । अनि आफू भने फुटीकौडी ननिकाल्ने केबल गरिरहने अरूको आलोचना । मेरो विचारमा यी दुबै अतिवादी सोच हुन् । त्यस्ता अतिवादी आलोचनाले दानवीरमा निराशा आउँछ ।
त्यसैले आलोचना मात्र होइन उसको सम्मान पनि गर्न सिक्नु पर्छ हामीले । एकाध मानिसलाई हेरेर समग्र समाजको परिदृश्य र सोचको निकाल्नु हुँदैन हिसाबकिताब । उत्ताउलो आलोचना होइन बौद्धिक वहस गरौँ र निकालौँ निष्कर्ष । यो अमूल्य जीवनको सहि सदुपयोग गरौँ र नगरौं दुरुपयोग । जीवन कसरी जिउने ?
अरुको आलोचना , ईष्या , द्वेष र घमण्ड राखेर कि वर पिपल झै सितल छाँया दिएर । सृजनात्मक - सकारात्मक सोच लिएर कि दरिद्र - आलोचनात्मक सोच बोकेर । आफैंले गरौं छनोट र अमूल्य जीवनलाई उपयोग गरौँ । नगरौं धन,सम्पत्ति र वल , तगत र जवानीको घमण्ड । यी सबै हुन् जीवनका अस्थायी र क्षणिक उपभोग्य साधन । गरौँ सेवा उत्पिडन र थिचोमिचोमा परेका मानवको । यसैले हुन्छ जीवन सार्थक र सफल ।
यी चीरस्थायी र अटल अमर सम्पत्ति हुन मानव जीवनका । मानिसको अन्तिम सुख नै समाजसेवा र सेवा सहितको सन्तुष्टि । जीवन जिउने पद्धतिको आफैंले गरौँ छनोट र सार्थक बनाउन यो हाम्रो अमूल्य मानव जीवनलाई । (स्तम्भकार - भट्टराई ( नेपाली काङ्ग्रेस खोटाङका उपसभापति हुन् )