आमाको मन बुझ्न वर्षौ लगायौं

आमाको मन बुझ्न वर्षौ लगायौं

रोदिक खबर

२६, बैशाख २०८१
  • 4.7K
    SHARES
  • आमाको मन बुझ्न वर्षौ लगायौं

     ललिता साह ।

    तिमी जन्मिदा परिवारमा कोही खुशी थिएन। चौथो सन्तानको रूपमा तिमी पनि छोरी नै जन्मियौं । म त आत्मादेखि खुशी थिए । तर खुशीका बीच डर त लागिरहेको थिए छोरी । कही तिम्रो कारण मलाई यो घरबाट निकालिनु वा मर्नु त पर्दैन नि ! यी डरका बीच म तिमीलाई एक पलको लागि एक्लै छोड्दैनथे ।

    त्यो नभए कही कतैबाट तिमीमाथि असुरक्षा नआइलागोस भन्ने कुरामा म सेकेण्डको रफ्तारमा सचेत थिए । तर तिम्रो हजुर बुवाको इच्छा विपरित घरका अन्यले सुत्केरी भएको दोस्रो दिन नै तिमी काँखमा च्यापिदै तिमी र मलाई मामाघर (मेरो माइती) पुर्‍याइयो । यस्तो वेला घरको जेठी बुहारी गएराती जन्मेको बच्चा सहित घरबाट निकालिनुले तिम्रो हजुर बुवाको मन अमिलो भएको थियो ।

    तेस्रो छोरी जन्मिएर दुः ख मनाएका तिमी सहित मलाई लेखेटेर तिम्रो हजुरबुवा बाहेक घरका सबै औधी खुशी थियो। तिम्रो र मेरो स्वास्थ्य अवस्था ठिक थिएन। एकातिर घर छुटेको मनको पीडा र खाना स्याहार नपाएर मेरो शरीर पहेंलो भईसकेको थियो ।

    प्रधानपञ्चको छोरा विहे गरेर कुलघरानामै पठाएको छोरीको घर संसार सम्बन्ध चुँडिने सम्भावना बढ्यो । तिम्रै कारण जीवन नमिट्यान हुने संघारमा पुगेको लाग्यो। यही सोंचेर शुरुमा त तिम्रो नानीलाई (मेरो माइतीको आमा) नि नरमाइलो लाग्याथ्यो। मेरो बच्चाकै कारण मलाई माइती इग्नोर पनि अनुभूति नभएको होइन ।

    घरदेखि टाढा आँपको बगैंचामा गएर एक्लै टोलाउथे । कति दिनसम्म समयमा खाना खाइन्न । तिमी सम्झेर फेरि दौडेर घर फर्किन्थे । नानीमाँको पुरानो साडीको कोक्रामा तिमीलाई पाएर खुशी हुन्थे। तर थाहा छ ती सबका बीच बलियो पक्ष के थियो सानैदेखि तिम्रो चन्द्रमा झै धपक्क बलेकी सुन्दर अनुहारले मलाई सारा दुःख विर्सादिन्थ्यो । तिमी काँखमा हुँदा सबै सहन्थे ।

    अन्ततः वर्ष दिनसम्म तिमीलाई लिएर माइतीमै थिए । त्यसपछि तिम्रो हजुरबुवा आफू स्वयम् काठको गाडी चालक सहित मलाई लिन आएर म तिम्रो बुवाको घर फर्केको याद छ । त्यसपछि पनि यातनाका दिनहरूको अन्त्य भएन ।

    आज हेर त तिमी नभई दिएको भए १०४ डिग्री ज्वरो आएको वेला मलाई बच्चा झै मध्यरातमा मुखमा ठूसी ( ठूसी रोटी र आलुको भुजिया कसले खुबाउथ्यो, भन्दै आमाको आँखाबाट बर्वर आँशु झर्यो । हाम्रो जीवन त त्यसै वित्यो तिमी अब दुःख नपाउनु भने चाहनाले म चिन्तित थिए ।

    कुनै पनि शर्तमा जीवनभर साथ दिने जीवनसाथी ढंगको मान्छे हुनुपर्छ भन्ने मान्यताले मेरी आमालाई सँधै सँधै मेरो चिन्ताले सताइरह्यो। म जति भरोसा दिलाए पनि आमाको पूर्णतः चित बुझाउन नसकेको पात्र म । रातीको दुई बज्नै लागेको थियो । मन अझै भक्कानिदै थियो । निन्द्राले छोएको छैन । पहिलो पटक आमाको घर छोडेर पराई भए । वर्ष दिनपछि जव आफै आमा बनेर आमासँग भएको पुर्नमिलनको त्यो रात । कहिले बिर्सन नसक्ने जीवनको यथार्थ अनुभूति ।

    त्यसअघिसम्म आमाको निर्देशनमा, बोलाईको तानामा र अझ नटेरेको खण्डमा थाकेर सुस्केरा हाल्दै पोखेको पिडामा बोलिएका ती शब्दहरु । आमाले भन्न खोजेको बुझाउन चाहेको मर्मलाई कहिले वास्ता गरिन्न । वास्तवमा आमाले त सन्तानलाई कामको बहानामा जीवन जिउने आरोह (अवरोहको कला सिकाउन चाहनुभएको रहेछ । हामी वालापनको त कहिले किशोरावस्थाको हठले आमाको त्यो मनोभावना बुझ्नै सकिएन ।

    संसारको हरेक पीडा र अभावका बीच मलाई स्वस्थ र मस्त हेर्न चाहने आमाको अविरल मायाको मनोधारा (मनको वेग)  बुझ्न वर्षौ लगायौं । हाम्रा पुस्ताका आमाहरूको यथार्थ शब्दमा चित्रण गरिरहँदा छच्लकिएको आँशु देखेर १३ वर्षे छोराले के भयो ममी, आज त ममी रुनु हुदैन भन्दै थियो तर मैले आँशुको धाराबीच मेरीआमाको अतितलाई शब्दमा कोरिरहे ।

    कति रोएं होला ! म मेरी आमाको सन्तानप्रतिको त्यो इमान्दारिता र अपार मातृत्व जसको कारण संसारको सबै हण्टर खान सक्ने आँट बोकेर आफ्नो जीवन गुमाएर भए पनि मेरी छोरी बाँच्नु पर्छ भनि सन्तानकी जीवन रोजेकी मेरो आमाको कारण म यो संसार देख्न पाए, जीवनको गोरेटो पाइला–पाइलामा नाप्न पाए । त्यतिवेला आमाले बोलेका सारा शब्दहरु अहिले जीवनको भोगाई बनिरहेको छ । आज मातातिर्थको विशेष दिनमा मेरीआमा र संसारका सम्पूर्ण आमाहरुमा समर्पित । (लेखक साह नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य हुन ।)

    प्रकाशित मिति :बैशाख २६, २०८१ बुधवार - २२:२५:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको