शुक्रवार, भाद्र २६ गते २०८३

एउटा शिक्षकको निजी डायरी

एउटा शिक्षकको निजी डायरी

रोदिक खबर

२७, आश्विन २०८१
  • 4.1K
    SHARES
  • एउटा शिक्षकको निजी डायरी

    मानबहादुर पौडेल

    भोगाइ जीवन रहेछ,समय बलवान शिक्षक रहेछ । दु:खले  आर्जेका कठिन अनुभव  गतिलो सिकाइ हुँदाे रहेछ अनि त्यसैलाई गास्दा मालारुपी रोचक कथा बन्दो रहेछ अनि अहिले अरुको  सुनाइ र पढाइमा दन्त्य कथा जस्तो बन्दो रहेछ।

    हो, त्यो बेला सिकाई कति कष्टकर थियो, बिहान उठेर नित्य कर्म सकि हातगोढा पखाली दतिवनले दात माझेर, गणेश पुज्ने, गोठे धन्दा सकेर, बासी भात तताएर खाइ,एकमेलो काम सकेर स्कुल जानू पर्ने, बेलुका फर्केर घाँस, दाउरा, स्यौला, पत्कर, गोबर सोराइ, दूध दुहुने, पधेरो बाट पानी ल्याउनु पर्ने,साझबती बाल्ने मोहि पार्ने अनि बेलुकाको खाना खाइवरी ढोड, भाटा, या सल्लोको दियालोको उज्यालोमा पाठ घोक्ने, नोट गर्ने,होमवर्क गर्ने अनि सबै सकेपछी मात्र सुत्न पाइन्थ्यो।

    पढ्ने कोठा अहिलेको जस्तो अलग्गै नहुने,त्यही अगेनु,मझेरी,खाना खाएर सरसफाइ सकी वरिपरि ओछ्यान लगाएर सुत्नु पर्ने, राती अलि ढिलो सम्म पढ्दा लौ!मट्टीतेल जखम पारो भनेर बुवाले हकार्नु हुने,बिहान उठेर आफ्नो बिस्तारा मिलाइसकेर मात्र अरु काम थाल्नु पर्थ्यो।बिद्यालयकहाँ नजिक हुनु र ?

    तातो भात ओफ!ओफ गर्दै खाएर एक दुई घण्टा हिडे पछि मात्र असिन पसिन हुदै पुग्नु पर्ने, दिनभरिको  भाले जुधाई, हरेगुडु, उफ्रिनु, दौडनु थकान, भोक, बेलुका घर आउँदा  हुरुक्क। अहिलेको जस्तो दिवा खाजा, क्यान्टिन, होटेल पसल कहाँ थियो र ? काचा कचिला आरु, कसैका बारीका दुधे मकै, काक्रा, सतिबयर, बखडा, नास्पाती, निबुवा, मेल, काफल, घगरु, ऐसेलु जस्ता समयानुसारका फलफुल बिधङ्स बनाइन्थ्यो नास्ताको लागि।

    बासको छेस्काको कलम, सिमिका पातको मसि, कहिलेकाही हस्पिटलको जिबिको झोल अनि धुलौटे पार्टी र बासको पट्ट्यासमा लेख्नु पर्ने, कहाँको टेवल कुर्सी हुनु, गुन्द्रीमा घुडा मारेर बस्दा घुडा, गोली गाठा र कुहिनो, गोरुको काध जस्तो हुन्थ्यो।

    पछि काचो कागज,सादा कागज,कापी र स्टारलाइन डठपेन, पार्कल पेन,हिरो पेन, टेको पेन, चेलपार्क मसि आएका हुन। चारना पर्ने डठको सुई र एक रुपैयाँको कपि पहिलो चोटि किन्दा दुईहात उफ्रिनथ्यो।

    आज पढेको पाठ भोलि हुबहु कण्ठ नहुदा कति लठ्ठी खानु पर्थ्यो, या मुर्गा बन्नु पर्ने कुनै लेखाजोखा थिएन। शनिबार छुट्टीको दिन पर्म लाउन या पर्म तिर्न जानै पर्थ्यो। बर्खाको बेला निगुरो टिपेर बेची आठना कमाउदा खुशिको सिमा नै नरहने अनि हिउदमा कटुस टिप्ने, ऐसेलु टिपेर बेच्ने अनि मेला र सेउलीबजार जादाको खर्चको जोहो गरिन्थ्यो।

    बिद्यालयमा मासिक शुल्क तिर्नु पर्थ्यो, बिद्यालय निर्माण हुँदा निदाल बोक्न, दलिन बोक्न, तलो छाप्दा माटो बोक्न,मुछ्न खट्नु पर्थ्यो।कट्टु,कमिज टोपी र खाली खुट्टा स्कुल जानू पर्ने कक्षा ५ पास गरेपछि खानेपानी कादुरी योजनामा ५ दिन काम गरेर सेसी चप्पल किन्यो जो मेरो खुट्टाको पहिलो चप्पल स्पर्श थियो।

    आमाले कप्टेरो तिखारी सुइरो बनाएर  उनबाट बुनि दिएको गलबन्दी, टोपि र स्वेटर अघि पछि घ्याम्पोमा राखिन्थ्यो अनि कार्जे या बिबाह बटुलोमा मात्र लगाइन्थ्यो। स्वीटर बुन्ने कुरुष पछितिर किन्न पाउन थालियो। रेडिमेड कपडा थिएन, खाडिको दौरा सुरुवाल लाउने त मुखिया जिम्मावाल र धनी मानीहरुले मात्र थियो।

    उनिहरुको काम गरिदिएर, खुशी तुल्याउन सकियो भने जडौरी लगाउन पाइने त्यो पनि खोसाखोस गरेर। हातिछाप चप्पल पट्काउदै स्कुल जादा त सान नै अर्को हुने।

    पछि कक्षा ९ मा पढ्दा सुन्तला खरितेर बेची खागिका जुत्ता किनेको दिन, खुशिले होला भात कम रुच्यो अनि ओछ्यानमै राखेर सुतेको सम्झना छ, हातमा बोकेर स्कुल पुग्ने बेलामा लाउने, छुट्टी हुने बित्तिकै फेरि फुकालेर बोक्ने मावल, जन्त जादा पुग्ने बेलामा मात्र लगाउने गरेर तीन बर्ष खपाएको थिए।

    आफ्नो पेवाको रुपमा कुखुरा, परेवा पाल्ने, अलिकती जिलो बढाउन सकेमा बाख्रो सम्म किन्ने अनि जेव खर्च जुटाउन सकिन्थ्यो। अलि पछि मट्टीतेल पाउन थाल्यो,मसिको बोतलमा कपडाको सलेदो बनाएर कुपी बालेर पढ्न पाउँदा खुशिले कतिरात त छर्लङ्ग नै बनाइयो।अलि हुनेखानेको घरमा लाल्टिन मैन्टोल बाल्थे त्योबेला, कहिलेकाही त्यहाँ पढ्न जादा हकारेर खेद्थे केको पढ्न पाउनु।

    त्यही कुपी हुँदा पनि बिहान बेलुका भरी काम सघाएर आधारात सम्म पढ्न पाइने हुनाले नोट,होमवर्क गर्न,पाठ घोक्न धेरै सहज भयो तर नाक भरी कालो जम्मा हुने, आँखा पोल्ने गर्थ्यो, यदाकदा हाच्छ्यु आउदा कुपी निभेर हैरान, कहाँ पाउनु सलाई कुपी बाल्नलाई अगेनुमा छोपेर राखेको आगो सल्काएर मात्र। अलि पछि त टुकिमारा पनि पाउन थाल्यो, सोलार धेरै पछि आएको हाम्रो ठाउँतिर।

    त्यस्तै २०५४ सालतिर गाउँका चल्दापुर्दा  धामी बाले सोल्लर,सादा टेलिभिजन अनि डेक किनेर गाउँ भरीका मान्छे बटुली दुई रुपैयाँ उठाएर टेलिभिजन देखाउने, फिलिम देखाउने गर्नु हुन्थ्यो । हामी त पैसा नहुने भएकोले श्वास रोकेर, लुकेर टाटिको प्वालबाट च्याहेर पनि धित मारिन्थ्यो।हिउदे १५ दिने जाडो बिदामा बेल्टार भन्ने बजारमा गएर नुन,साहुको भारी बोकिन्थ्यो मैले रु. ८ प्रती धार्नी, भारी बोकेर १५ धार्नीको जम्मा १२० कमाएर अर्को कक्षामा चढ्दा चाहिने पुस्तक, कापी, मसी र कलमको जोहो गर्दा बुवा खुशी भएर परेवा काटेर चामलको भात खुवाउनु भएको थियो।

    सायद त्यो अहिलेको शैक्षिक शब्दमा पुनर्बलको ब्यबहारिक रुप रहेछ। बर्खे बिदामा त धान कोदो रोप्नमा ब्यस्त भएर होला कमाइको मौका मिल्दैन थियो खासै। गाउमा सानातिना कार्जे,बिबाह बटुलो हुँदा बिद्यालयबाट बिदा लिएर पात टिप्न, चिउरा धान कुट्न, दाउरा काट्न, निम्ता गरिदिन, भतेर बार्न, खाना पकाउन, बाढ्ने पानीको जोहो गर्ने जस्ता सामाजिक काममा खट्दाको बेग्लै मज्जा लाग्थ्यो।

    दशै बिदामा साहुको भारी बोकेर नयाँ लुगा किनिन्थ्यो,बाटो घाटो खन्ने, पुल पुलेसा बनाउने पिङ हाल्न बाबियो बटुल्ने, घर छ्याप्ने, न्याहुली खोजेर रङ्ग बनाई झ्याल ढोका कालो बनाउने काम गर्नै पर्थ्यो। दशैलाई भनेर बाक्लो लामो घाँस जोगाएर राख्ने, खशिलाई दुधे मकै र हरिया खोस्टा खुवाएर पोस्ने अनि अरुको भन्दा ठूलो काट्दा कति मज्जा र गर्व  लाग्थ्यो।

    सिधा ठूलो काक्रो खल्पिको लागि सिका लगाएर राखिन्थ्यो।यावत काम गर्नु पर्ने एकातिर, अर्का तिर सबै सरहरुले दशै बिदाको लागि गृहकार्य र नोट गर्न दिनु हुन्थ्यो । दशैको खुशीमा तेत्रो लेख्नु पर्ने रिस त उठ्थ्यो तर नलेखी साध्य थिएन,रातभरी लगाएर भएपनी लेखिन्थ्यो।

    दशैमा झोला बोकेर टीका लगाउदै,चिउराकेरा बटुल्दै,चानचुने पैसा बजाउदै पिङ खेल्दा एक पटक चानचुने पैसा खस्दा बेलुका पिर लागेर मासु भात धरी नखाएको र हजुर बाले त जाबो छोरा होस, दक्षिणा मिल्दैन भनेर खुट्टामा ढोग्न लाउदा उत्तिकै कन्पारो तातेको थियो।

    तर सबै रिसलाई दबाएर नपढी,नलेखी कहाँ सुख हुनु र ?बार्षिक परीक्षा सकिएर रिजल्ट आएको दिन, किताबमा गाता लगाएर,बाधेर आफ्ना बेच्ने र अरुको किन्ने हुँदा त्यो दिन किताब बजार लागे झैँ हुन्थ्यो।

    दिदी दाजु हुनेले चाहिँ उहाँहरुले पढेका पुराना कितावमै चित्त बुझाउनु पर्ने हुन्थ्यो। सरल गर्दा नाफा नोक्सान निकाल्ने हिसाब, प्रतिसत दशमलव सबैतिर रफ गर्नु पर्ने, क्यालकुलेटर हुन्न थियो, कपि त एक महिना पुर्याउनु भन्ने तोक हुन्थ्यो तर रफ गर्दा गर्दा कापी स्वाहा हुन्थ्यो।

    कोर्स भन्दा बाहिरका कितावहरु कबिता,निबन्ध, सामान्यज्ञान, कथा, उपन्यास, नाटक खुबै पढिन्थ्यो तर शनिबार गोठालो गएको मौका मिलाएर। अतिरिक्त क्रियाकलापमा उत्तिकै सम्लग्नता,खेलकुदमा झन दिलचस्पी, टिफिनभरी उफ्रिनु पाफ्रीनु कति सकृयता ?

    यो भोगाई सुनाउनु हो भने एका देशको दन्त्य कथा हो भनेर या कुन फिल्मको डायलग हो भनेर विद्यार्थी फिसिक्क हासोमा उडाउछन तर कुरो यथार्थ भोगाइको हो।

    अहिलेका विद्यार्थी लाई कति सुख र सुबिधाहरु छन,घर नजिक स्कुल, दिवा खाजा, निशुल्क शिक्षा, निशुल्क किताब, छात्रवृत्ति, आईरन चक्की, सेनिटरी प्याड, सोलार तथा बिजुलीमा पढ्न पाइने,ग्यास गिजर, हिटर बिजुली बत्ती, स्कुल बस, ट्युसन, कोचिङ, स्मार्टबोर्ड, अनलाइन क्लास, क्याल्कुलेटर, मोबाइल, ल्यापटप, फ्री वाइफाई, सुबिधै सुबिधा ।

    शिक्षकले पढाएकै छन,विद्यार्थी बिद्यालय गएकै छन,अभिभावकले पठाएकै छ्न, सेवा सुबिधा थपिदा छन, प्रबिधी भित्रदो छ। तर किन शैक्षिक उपलब्धि खस्केको होला ? अब विश्लेषण हजुरहरुको है त । (लेखक पौडेल खोटेहाङ गाउँपालिकाका बिद्यालय स्रोत निरीक्षक हुन् ।)

    प्रकाशित मिति :आश्विन २७, २०८१ आइतवार - १०:४५:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको