शुक्रवार, भाद्र २६ गते २०८३

सम्झनामा : मेघराज धमला !

सम्झनामा : मेघराज धमला !

रोदिक खबर

१, मंसिर २०८१
  • 11.2K
    SHARES
  • सम्झनामा : मेघराज धमला !

    प्रकाश आचार्य " भावुक" ( प्रभा)

    खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा वि. सं. २०४२ साल माघ १५ गते पिता लक्षुमण धमला र माता पुन्यमाया धमलाका कान्छा सुपुत्रका रूपमा जन्मिएका मेघराज धमला सानैदेखि अनुशासित, लगनशिल, सिर्जनशिल र सहयोगी भावनाका थिए ।

    उनका दुई दाजुहरू तुलसी धमला र यादव धमला तथा एक दिदी हिरादेवी धमला हुन्! यसरी परिवारमा मेघराज कान्छो भएकाले सबैको माया पाएर हुर्केका थिए भने पढाईमा तिक्ष्णता र खेलकुदमा निपुणताले गर्दा गाउँघर, समाज, सहर बजार, विद्यालय, क्याम्पस, गुरूहरू, साथिभाई तथा अग्रजहरूका माझमा अत्यन्तै लोकप्रीय बनेका थिए ।

    खोटाङ जिल्लामा खेलकुदका बहुविधामा अब्बल तथा कुशल खेलाडीका साथै इमान्दार , बौद्धिक सामाजिक व्याक्तित्वकाे छवि बनाएका धमलाकी धर्मपत्नि करूणा धमला हुन् भने उनीहरूका मुटुका टुक्रा समान दुई छोरीहरू सुज्ञानी धमला र सुबिहानी धमला छन् ।

    औपचारिक अध्ययनको सुरुवात श्री पञ्च माद्यामिक विद्यालयबाट गरेका धमलाले माध्यामिक तहको शिक्षा दिक्तेल बाेडिङ्ग स्कुलबाट पूरा गर्दै एस. एल. सी. परीक्षामा प्रथम श्रेणी (फस्ट डिभिजन) मा उतिर्ण गरेका थिए ।

    जिल्लाकै ठूलो विद्यालय श्री सरस्वती उच्च माद्यामिक विद्यालयबाट मेजर इङ्लिस विषयमा आइ.एड. गरेका धमलाले सोही विषयमै दिक्तेल बहुमुखी क्याम्पसबाट स्नातक उतिर्ण गरेका थिए भने हाल सोही क्याम्पसबाट स्नातकोत्तर तहको अध्ययन कार्यलाई अगाडि बढाई रहेका थिए ।

    आङ्लभाषामा राम्रो दख्खल भएका धमलाले क्याम्पस लेबलको पढाईसँगै अर्थात् आइ.एड. उतिर्ण गरेसँगै वि.सं.२०६३/६४ सालबाट अध्यापन कार्यमा संलग्न भई विभिन्न शैक्षिक संस्थामा रहेर प्रा. वि. देखि मा. वि. तहसम्म अध्यापन गराएकाे पाइन्छ ।

    माउण्ट एभरेष्ट बोडिङ्ग स्कुलबाट अध्यापन कार्य सुरु गरेका धमलाले सोही बोडिङ्गको शाखा विजयखर्क बसेरीमा समेत केही समय अध्यापन गरेका थिए।

    अध्यापनकै शिलशिलामा उनले स्याम्पल बोडिङ्ग स्कुलमा पनि छोटो समय अध्यापन कार्यमा संलग्न भएको पाइन्छ ।उनले आदर्श शिक्षा सदन बोडिङ्ग स्कुलमा अध्यापन गराउँदा सो बोडिङ्गको भ्वाइस प्रिन्सिपलको जिम्मेवारी समेत सम्हालेक थिए । धमलाले केही समय रावाखोलाको मा वि मा समेत अध्यापन गरेको पाइन्छ ।

    वि. सं. २०७४ सालदेखि सरस्वति आधारभुत विद्यालयमा नियमित रूपमा अध्यापन गराउदै आएका मेघराज धमलाले सोही आवि को प्रध्यानाध्यापकको समेत जिम्मेवारी सम्हालिरहेका थिए ।

    विद्यालयमा वि.व्य.स. अध्यक्ष अजय बस्नेत र प्र. अ. धमला दुवै आशलाग्दा जल्दाबल्दा युवाको नेतृत्व एवं अभिभावक र सरोकारवाला व्यक्ति तथा निकायको बढ्दो चासो र सक्रियताले पोखरी स्कुलमा आशाका नवीन किरणहरू छाइरहेको थियो ।

    जुन संस्था र जिम्मेवारीमा रहेपनि कुशलतापूर्वक जिम्मेवारी निभाउने धमलाको इमान्दारिता, कुशलता, व्यवहारिकता, सामाजिकपन र जिम्मेवारी बोधले सधैँ सबै प्रभावित हुन्थे ।

    सानालाई माया र ठुलालाई आदर एवं सबैप्रति सद्भाव राख्ने उनको स्वभाव थियो । क्षमतामा विश्वास गर्ने धमला स्वाभिमानको सबालमा भने कसैलाई गन्दैनथे ।

    इमान्दारिता र स्वाभिमान उनको विशिष्ट गुण थियो । विद्यालय जीवनदेखि नै पढाईमा पनि प्रथम, द्वितीय स्थान हासिल गर्ने धमला खेलकुदमा झन् अब्बल मानिन्थे ।

    विद्यालय जीवनदेखि नै फुटबल, भलिबल, व्याडमिन्टन, टेबलटेनिस जस्ता खेल खेल्ने धमलाले विभिन्न शैक्षिक संस्था,सामाजिक संघ संस्था एवं खेलकुद संगठनमा आवद्ध भई खेलको माध्यमबाट सामाजिक गरिमा बढाएका पाइन्छ ।

    धमलाले विभिन्न जिल्लास्तरीय फुटबल खेलमा टिम क्याप्टेनको भूमिकामा रही गोल गर्दा होस् वा भलिबल खोलमा सर्ट प्रहार गर्दा होस् - सिङ्गो खेलमैदान " मेघराज दाइ, हाई हाई' को नाराले गुञ्जयमान हुन्थ्यो ।

    यसरी धमलाले फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस खेलका माध्यमबाट गाउँ समाज र जिल्लाकै गरिमा बढाएका धमलाले विभिन्न पुरस्कार प्राप्त गर्नुका साथै उत्कृष्ट तथा अनुशासित खेलाडीको रूपमा समेत पटक पटक सम्मानित भएको पाइन्छ ।

    खेल र खेलाडीका रूपमा उसको उचाई/छवि जिल्लास्तरीय मात्र नभई राष्ट्रियस्तरको थियो । यसरी बाहिर फिल्डमा खेलिने खेलका अतिरिक्त क्यारमबोर्ड, चेस जस्ता खेलमा पनि उनी निपुण थिए । यसरी खेलकुद क्षेत्रमा मेघराज धमलाको नाम जिल्लामा अग्रणी स्थानमा थियो ।

    गाउँघरका खेतबारीका टार, गराहरूमा माेजाको भकुण्डो खेलेर ठुल्दाई (तुलसी धमला) सँग सुरु भएको फुटबल होस् या माझाघरको ठूलो गरामा नेट टागेर पदम सर (पदम आचार्य), यादव दाइ (यादव धमला) सँग सुरु भएको भलबल लगायत खेलकुदको यात्रामा मेघराज सयौँ चेलाहरूका गुरु पनि थिए।

    उनका खेलकुदका गुरु र समकालीन साथी तथा चेलाहरू गाउँदेखि बजारसम्म, सदरमुकामदेखि गाउँ गाउँसम्म कति थिए-यहाँ केहीको नाम लिएर कोही छुट्दा कोहीप्रति विभेद हुनसक्छ ; तथापी दस्तावेजीकरण हुने सन्दर्भ आएमा सगेट्ने जमर्को गर्ने छु !

    जसरी मेघराज अङ्ग्रेजी विषयका जिल्लाकै अब्बल शिक्षकका रूपमा परिचित थिए र सबै विद्यार्थीहरूका प्यारा गुरु पनि थिए । उसैगरी खेलकुद तथा शिक्षा दुबै क्षेत्रमा गुरुहरूका लागि पनि एक आशालाग्दा आदर्श र प्रीय चेला थिए ।

    बौद्धिक जगतमा 'मेघराज सर'द्वारा सम्मानित धमला खेलकुद जगतमा 'मेघराज' र मेघराज दाइको रूपमा परिचित छन् भने साहित्यतर्फ पनि उनको विशेष रुचि थियो ।

    विशेषगरी कविता र गजल विधामा कलम चलाउने धमला विद्यालय जीवनदेखि नै कविता गजल लेखेर पुरस्कृत हुने गरेको पाइन्छ ।

    उनको साहित्यिक नाम 'मेघराज मञ्जिल' हो। "सुनौलो विहानी" साहित्यिक द्वैमासिक पत्रिका (वर्ष १, अङ्क ३,२०६६) मा प्रकाशित मेघराज मञ्जिलको एक गजल:

    हाँसी हाँसी बोल्ने गर चोखो माया लाउने भए म पनि कति लाउँथे नबोल्दा नि पाउने भए ।।

    कहाँ सफल भइन्छ र एकतर्फी माया लाउँदा यस्तो माया नलाउँ क्यारे सधैँ एक्लै धाउने भए ।

    बोलाउन खोज्दा मैले किन भाग्छौ पर पर तिमीलाई नै किन रोज्थेँ अर्कीलाई ल्याउने भए ।

    एकपल्ट मात्र भन हाँसी हाँसी बोल्छेउ भने मेरो इच्छा पूरा हुन्छ यदी तिमी आउने भए ।

    यसरी सामाजिक यथार्थमा आधारित कविता र श्रृङ्गारिक गजल लेख्ने धमलाका रचनाहरू विभिन्न पत्र- पत्रिकामा समेत प्रकाशित हुने गरेका थिए ।

    क्याम्पस लेवलको पढाईको सुरुवातबाट नै पिता सहिद ठुलकुमार श्रेष्ठ र माता शान्ता श्रेष्ठकी जेठी छोरी करुणा श्रेष्ठसँग प्रेम सम्बन्धमा रहेका धमलाले आफ्नो स्नातक तहको अध्ययन सकिएसँगै प्रेमलाई विवाहमा परिणत गरेका थिए ।

    विवाह गरेको केही समयपछि करूणा भाउजुले पनि लोकसेवा पास गरेर जागिर खादैँ हुनुहुन्थ्यो । यो प्रेम जोडी रूप, गुण, शिल र स्वभावले सबैका लागि नमुना र अनुकरणीय थियो ।वास्तविक प्रेमको परिभाषा बनेर यो जोडी दुनियाँका अगाडि रमेको थियो।

    उनीहरूबाट जायजन्म भएका दुई छोरीहरूमध्ये ठुली छोरी सुज्ञानी धमला भर्खर ९ वर्ष पुगेकी छन् भने सानी छोरी सुबिहानी धमला मात्र ९ महिनाकी छन् , सुबिहानीको बोली नै फुटेको छैन।

    यसरी गाउँघर विद्यालय, बजार, अफिस, साथीभाई , आफन्त जताततै अत्यन्त शालिन, इमान्दार भनेर चर्चा पाइरहेको मेघराज र उनकी पत्नी करुणाको अनुपम प्रेमको ईर्ष्या मान्छेलाई त थिएन; उनीहरूको प्रेममा सबै खुसी थिए तर स्वयम् दैवलाई नै ईर्ष्या लागेछ ।

    २०८१ साल कार्तिक २१ गते बुधबार त्यस्तो कालो र अँध्यारो दिन भयो मेघराजको अकल्पनीय हटट्याकले !

    दिदिको हातबाट दाजुभाइ एकै ठाउँमा भई तिहारको टीका लाउन काठमाण्डौँ आएका दाजुभाइ तिहार लगत्तै घर फर्कने क्रममा मङ्गलटार नजिकै मेघराजले छाति दुख्यो भनेपछि यादव दाइले बाइक बिसाएर एम्बुलेन्स बोलाई धुलिखेल हस्पिटल लगेपछि आफन्त भेला हुदाँ मेघराज बोलिरहेका थिए, त्यहाँ उनको दिदिसँग कुरा भएको थियो।

    मेघराजलाई हटट्याक भएको थाहा भयो तर उसको उपचार त्यहाँ हुन नसकेपछि गङ्गालाल हृदयकेन्द्र काठमाण्डौँ ल्याइयो। गङ्गालालका डक्टरको टिमले अप्रेसन गर्नुपर्छ भन्दा हामीलाई मेगराज दाइ बच्छन् भन्ने आशा थियो।

    त्यही बेला भाउजुले रुदै फोन गर्दै मैले सोही कुरा भनेको थिए तर केही समयपछि डक्टरले मेघराजको मुटुले काम गर्न छोडेको जानकारी दिए ।

    यसरी खोटाङ जिल्लाको शैक्षिक, सामाजिक र खेलकुद क्षेत्रको एक चम्किलो नक्षत्रमाथि कालको व्रजपात भयो । यसरी फूलझैँ सुकुमार प्रेमजोडीमाथि दैवको ईश्या भयो। धर्मपत्नी करूणाको साथ खोसियो। छोरीहरू सुज्ञानी र सुवानीको काख खोसियो ।

    बुढाभएका बाबुआमाको काख रित्तियो ।दाजुहरूको एउटा भरपर्दो भरोशा टुट्यो । गाउँघरको प्रतिष्टाको एक खम्बा, मित्रताको प्रतीक र सम्बन्धको सुमुधुरपन सबै सबै टुट्यो । नातागोता, इष्टमित्र, आफन्तको पनि आशाको किरण निभेर अँध्यारो भयो ।

    अरू त सकियो, करुणा भाउजुको संसार सकियो । बाल्यकालमै बाबाको माया पाउनबाट बञ्चित करुणा भाउजु आमाको काखमा मावलीको साहारामा हुर्केकी थिइन् ।

    एउटा साहाशिलो जीवनसाथीका रूपमा मेघराजको साथमा रमाइरहेकी थिइन् तर उहीमाथि दैवले लाठी बजार्यो र खोस्यो मेघराजलाई।

    आमाले जीवनभर खेपेको पीडा फेरि छोरी करूणाले खेप्नुपर्यो । ८१ वर्षका वृद्ध बाउ टाउकामा टालो हालेर भक्कानिदै रून्छन्,आमाको उस्तै बेहाल छ । भाउजू बेहोस् छिन् ।

    लाउलाउ खाउखाउ उमेरको जोडीलाई फुटाएर के पाइस् दैव! धिक्कार छ दैव ! तैले जितिस् ; हामी रोएर बसेका छौँ! अन्त्यमा, मेघराज दाई र म सँगै गोठ बनाएर खेल्थ्यौ, रमाउँदै कहिले बाख्रा चराउँथ्यौँ, सर्वत बनाएर खान्थ्यौ, सँगै सुत्थ्यौ ! थाहापाउने भएदेखिका सबै सम्झना ताजै छन् ।

    मेघराजदाइ विरामी भएर धुलिखेल ल्याएको छ भनेपछि अफिसबाट सिधैँ धुलिखेल पुगेको म, गङ्गालालमा डक्टरले भनेको सबै सुनेको छु, तिम्रै छेउमा बसेर घर पुगे र रुदै गरेको जनसागरसँगै सागर पुगेर फर्केर आउँदा पनि मलाई मेघराज दाइ जिउँदै हुनुहुन्छ भन्ने लागिरहन्छ, भाउजूले दाइ खोइ भन्दा म बोल्न सक्दिन र भक्कानिन्छु । अब त म के गरौँ विश्वास नगरेर ।

    हार्दिक श्रद्धाञ्जलि मेरो दाइ मेघराज !

    प्रकाशित मिति :मंसिर १, २०८१ शनिवार - १७:३५:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको