शुक्रवार, भाद्र २६ गते २०८३

विद्यालय मर्जः आवश्यकता र सिकाइ विधि

विद्यालय मर्जः आवश्यकता र सिकाइ विधि

रोदिक खबर

८, कार्तिक २०८२
  • 5.7K
    SHARES
  • विद्यालय मर्जः  आवश्यकता र सिकाइ विधि

    वसाइ सराइ, वैदेशिक रोजगार, ढिलो विवाह तथा थोरै सन्तान उत्पादन गर्ने परिपाटीले अहिले ग्रामिण वस्तीहरु उजाड, कहालीलाग्दा र सुन्य भइसकेका छन। खेती योग्य जग्गा जमिन खण्डहर भएर वाँझिसकेका छन भने इतिहास वोकेका कलात्मक गाँउले परिवेशका सुन्दर घरहरु लडिसकेका, लड्न तयार भइसकेका र केही वस्तीहरु उजाड र अस्तित्वविहिन भइसकेका छन ।

    पँधेरा तथा धारा कुवाहरु सुकी सकेका छन। घोडेटो तथा गोरेटोहरु वुट्यानले ढाकेर, झ्याउ, लेउ पलाएर पहिल्याउन र हिड्न नसक्ने भइसकेका छन भने पाटी पौवा मन्दिर तथा फलैचाहरु मक्कीसकेका छन । उता विद्यालयको अवस्था झनै कहाली लाग्दो छ ।

    आधारभूत तह वाविके देखि कक्षा १-५ चलेको अधिकांश विद्यालयहरुमा १०/१५ जना विद्यार्थीहरु पुर्याउन हम्मे हम्मे छ । कक्षा १-८ चलेको विद्यालयमा मुस्किलले ५० जना विद्यार्थी हुन्छन भने मावि तह १-१० तथा १-१२ चलेका विद्यालयहरुमा पनि विद्यार्थी अती कम भएर कक्षा धान्न धौ धौ भइ सकेको छ । त्यति थोरै विद्यार्थीहरु मध्ये पनि विद्यालय छाड्ने, कक्षा दोहोर्याउने, असफल हुने, कक्षा छाड्ने दर उच्च छ।

    भौतिक संरचना, दरवन्दी वितरण तलव भत्ता, मसलन्द, निःशुल्क पाठ्यपुस्तक, छात्रवृति, विधुत विस्तार र सूचना सञ्चार तथा प्रविधिको लागि नेपाल सरकारको अत्यधिक लगानी भइरहेको छ तर शैक्षिक उत्पादन भने ‍ओरालो लाग्दो, नैराश्यपूर्ण रहेको छ । अझै विद्यालय उमेरका धेरै वालवालिकाहरु विद्यालय वाहिर नै छन । शिक्षामा लगानीःवालुवामा पानी भने झैं भएको छ ।

    अवको एकमात्र विकल्प भनेको विद्यालय मर्ज गर्ने,दरवन्दी मिलान गर्ने,कक्षा घटौति गर्ने तथा सिकाइ पद्धतिमा आमुल परिवर्तन र शैक्षिक रुपान्तरण नगरी हुदैन। पहाडी विकट भूगोल,पातलो वस्ती, गरिव समुदाय अनि राजनितिक मतभेद, रवाफ, संरक्षण र खिचातानीको कारण स्थानीय तहवाट विद्यालय मर्ज गर्ने कार्य चुनौतिपूर्ण नै रहेको छ ।

    केही स्थानीय तहहरुले कार्यविधि वनाएर ठूलो हिम्मतका जोखिम मोलेरै भएपनि विद्यालयमा कक्षा घटाउने, मर्ज गर्ने र दरवन्दी मिलान गर्ने कार्य गरे तर यो वैज्ञानिक विधि र पद्धति नअपनाइ, आवश्यक व्यवस्थापन नगरी हतारोमा गरेकोले केही सन्तुलन खजमजिन गइ झनै समस्यामुलक वनेको र आशातित नतिजा आइरहेको छैन भने अर्को तर्फ दल र समुदायवाट आलोचित भइरहेको पनि छ ।

    संघीय सरकारवाट नै आवश्यक कार्यविधि तथा मापदण्ड वनाएर स्थानीय तहमा पठाइदिँदा केही हदसम्म सहज हुन सक्छ र स्थानीय तहलाई कार्यन्वयन गर्न सहज पनि हुन्छ तर मर्ज गर्ने कार्यविधि तथा मापदण्ड मात्र वनाएर हुदैन।

    यसको लागि आवासीय विद्यालय, दरवन्दी मिलान, कार्यविधि, एकीकृत वस्ती व्यवस्थापन, विद्यालय यातायातको व्यवस्थापन,सहज पहुँचको सुनिश्चततातथा शिक्षा र सिकाइ शैली रुपान्तरणको लागि वहुप्राविधिक विद्यालयको अवधारणा नल्याइकन हचुवाको भरमा गरेको मर्ज ले भोलिका दिनमा झनै विकराल अवस्था ल्याउनुका साथै शैक्षिक विकृति, वितृष्णा र क्षती हुनसक्छ।

    अवका विद्यालयहरु वस्तीहरुको विचमा हरित तथा वहुप्राविधिक विद्यालयको अवधारणा अनुरुप संचालन गर्न ढिला भइसक्यो। वासी ज्ञान, सिद्धान्त र मरेको इतिहास होइन शिक्षालाई सिप सगँ जोड्ने, सिपलाई काम सगँ जोड्ने, कामलाई उत्पादन सगँ जोड्ने र उत्पादनलाई व्यवसाय, वजार र आम्दानीको स्रोतसगँ जोड्न सकिएन भने शैक्षिक निराशाको खाडल अझै वढ्दै जानेछ।उच्च शिक्षालयहरु वन्द हुने तथा प्रतिभापलायन हुने र देश रित्तिने संभावना अझै वढ्ने छ ।

    अव विद्यालय वरिपरी रहेका वाँझिएका उर्वर जग्गाहरु विद्यार्थीका लागी प्राक्टिकल गर्ने थलो वनाउदै स्थान, भूगोल वातावरण, तापक्रम, मौषम तथा माटो सुहाउदो खेती प्रणाली, पकेट क्षेत्र तथा हव छनोट र घोषणा, नगदेवाली, पशुपालन, फुल खेती, फलफुल खेती, जडिवुटी खेती तथा प्रसोधन, कच्चा पदार्थ उत्पादन र निर्यात, उत्पादित सामग्रीको सरल र सहज वजारीकरण, विद्यार्थीवाट उत्पादित वस्तुको विक्री वितरण पछिको केही अंश विद्यार्थीहरुलाई प्रोत्साहन, साना घरेलु उद्योग, स्थानीय विषयवस्तु, पेशा व्यवसायको संरक्षण र परिमार्जन, हस्तकला, सिलाइ कटाइ तथा वुनाइ, काठको काम, वाँसको काम, माटोको काम, फलामको काम, हाउस वायरीङ, फार्मेसी, मेकानिकल ज्ञान, शिक्षा, सवारी चलाउने सिप, शिक्षण सिप, उद्योग तथा साना व्यवसाय संचालन सिप जस्ता व्यवहारिक सिप सिकाइ देशलाई आवश्यक सवै खाले जनशक्ति स्वदेशमै उत्पादन गरी स्वदेशमै खपत गर्ने तथा व्यवसाय उपयोगी र वहुप्राविधिक सिप सिकाउने, व्यवहारिक सिप अन्तर्गत नेतृत्व सिप, वोलाइ सिप, सामाजिक सिप तथा शारिरिक व्यायाम, योगा, संगीत सिकाउने तथा वहु सिकाइ थलोका रुपमा विद्यालयलाई रुपान्तरण गर्न सकिएन भने अझै विद्यालय शिक्षा प्रणाली धरासायी हुने कुरा सुनिश्चित नै छ ।

    विद्यालयको पाठ्यक्रम पनि सैद्धान्तिक र कोरा अनुपयोगी ज्ञानमा आधारित भएकोले विद्यार्थीको रुची, अभिभावकको चाहना, समाज र देशको आवश्यकता, अन्तराष्ट्रिय सन्दर्भ, समयको माग अनुसारको विषयवस्तु समेटेर ४० प्रतिशत सैद्धान्तिक अनि ६० प्रतिशत प्राक्टिकल सिप सिकाउने विषयवस्तु समावेश गरी पाठ्यक्रम पुनः आमुल परिवर्तन आवश्यक छ।

    अभिभावक आकर्षण र अपनत्वका विषयवस्तु,संस्कार र संस्कृति तथा नैतिकता जस्ता व्यवहार उपयोगी सिपहरु पनि पाठ्यांशमा समावेश गर्नुपर्छ । भनी खाने, वोली खाने, ढाँटी खाने भन्दा पनि गरीखाने, रोजगार तथा स्वःरोजगारको लागि सिपयुक्त विषयवस्तु पाठ्यक्रममा समेट्न आवश्यक छ।

    सिकाइ र सहजीकरण प्रकृया हिजोको जस्तो झारा टार्ने, कर्म काण्डी, समय विताउने र पेन्सनको अंकमा वृद्धिको लागि पर्खिरहने प्रकृतिका शिक्षकवाट माथि वर्णित सिकाइ सहजीकरण संभव छैन। हावर्ड गार्डनरले सुझाएको वहुवौद्धिकताको सिकाइको ज्ञान र सिप भएको, पेशाको मर्मलाई न्याय दिन सक्ने, प्रविधि वुझेको, व्यवसायिक सिपमा निपूर्ण, नैतिकवान र समर्पित योग्य साथै व्यवहारिक पक्ष र प्रयोगात्मक परीक्षाको कसीवाट भित्रिन सक्ने शिक्षक छनोट गर्ने गरी शिक्षक सेवा आयोगको पाठ्यक्रम परिवर्तन आवश्यक छ।

    जसको कारण एकै प्रकृतिका शिक्षकको प्रवेश होस जसले विद्यार्थीको मनोविज्ञान वुझेर उसको आवश्यकता, क्षमता, उमेर, तह, रुची र स्तर अनुसार उनीहरुको सिकाइमासक्रिय सहभागिताको सुनिश्चित गर्दै सिकाइ सामग्रीको अर्थपूर्ण प्रयोग सहितवालमैत्री, प्रविधि मैत्री, पर्यावरण मैत्री र उपचारात्मक शिक्षण गरी शैक्षिक उपलव्धी उकास्न सक्ने शिक्षक भित्रिन सकुन ।

    आकर्षक सेवा सुविधा सहित २० वर्ष पुगी पेन्सन भइसकेपछि सेवावाट अनिवार्य अवकाशको परिपाटी ल्याउन नितान्त आवश्यक छ । साठी वर्षे लामो, पट्यार लाग्दो वोझिलो, जीर्ण शरीर, शिथिलता र कम्जोरी मानसिक अवस्थाको कारण शिक्षण सहजीकरणमा नैराश्यता आएको हो।

    अन्त्यमा नेपाल कृषि प्रधान देश भनिएको छ तर चामल, दाल, तेल, मकै, गहु, प्याज,  खुर्सानी, गुन्द्रुक लगायत सवै तरकारी आइटम विदेशवाट आउने, दाँत कोट्याउने सिन्का समेत पारीवाटै आउने, तिहारको झिल्झिले वत्ती, पटका, फुल र भाइ मसलामा समेत कति पैसा विदेसियो होलारु दैनिक कृषि उपभोग्य वस्तु मात्र भएपनि आपूर्ति गर्ने र देशलाई आत्म निर्भर वनाउने किसिमको व्यवहारिक तथा सिप मुलक शिक्षा दिन सकियो भने पनि धेरै उपलव्धी हुन्छ ।

    पहिला आधारभूत सिप अथवा वचाउने सिप युक्त शिक्षा दिएपछि मात्र अतिरिक्त सिप अथवा कमाउने र विकसित हुने प्रकृतिको अर्को शव्दमा सिक्दै कमाउदै र कमाउदै सिक्दै गर्नेशिक्षा अपरीहार्य भएको छ । यसको लागि देशको शैक्षिक पद्धतिमा सुधार र रुपान्तरण ढिला भइसकेको छ । (लेखक खत्री खोटेहाङ गाँउपालिकाका विद्यालय स्रोत निरीक्षक हुन् ।)

    प्रकाशित मिति :कार्तिक ८, २०८२ शनिवार - २१:५६:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको