सुप्रभात ढकाल “सुप्रात्मा”
समाजका अपहेला, गलत दृष्टिकोण र मौन पीडाहरूको गहिरो प्रश्न
म १९ वर्षको एक युवा हुँ । म अहिलेको समाजलाई हेर्छु, सुन्छु, महसुस गर्छु अनि मनभित्र एक गहिरो प्रश्न उठ्छ — आखिर यो किन ? किन आजभोलि प्रेम झुटो जस्तो लाग्छ ? किन समाजका दृष्टि गिद्धजस्ता छन् ? किन महिलाको, तेस्रो लिङ्गीको, विधवाको, किशोरीको आवाज दबिन्छ ? यी सबै प्रश्नले मेरो मनमा ठूलो हलचल मच्चाउँछन् ।
झुटो प्रेम र स्वार्थी दृष्टिकोण
आजको समाजमा प्रेमलाई प्रायः गलत दृष्टिले हेरिन्छ । धेरैजसो पुरुषहरू आफ्नो निजी स्वार्थका लागिमहिलाको भावनासँग खेल्छन्, झुटो प्रेम देखाएर उनको विश्वास र अस्तित्वचोर्ने प्रयास गर्छन् । महिलाले जब कुनै पुरुषमाथि आफ्नो मन खोल्छिन्, त्यो सामान्य कुरा होइन । त्यो उनको जीवन, सपना र विश्वास सुम्पने क्षण हो । तर त्यही समयमा कतिपय पुरुषहरूले गलत नजरले हेर्छन्, असल नारीको इज्जतमा दाग लगाउने प्रवृत्ति देखाउँछन् । आखिर यस्तो किन ?
तेस्रो लिङ्गीप्रति विभेद
जस्तो सहरमा पनि तेस्रो लिङ्गी व्यक्तिहरू समाजबाट अपहेलित छन् । गाडी चढ्न नदिने, बाटोमा हेला गर्ने, कुदृष्टिले हेर्ने यस्ता व्यवहार अझै सामान्य छन् । मानव शरीर भगवानले सिर्जना गरेको हो; त्यस आधारमा कसैको चरित्रमाथि प्रश्न उठाउने अधिकार कसैसँग छैन । तर अझै पनि उनीहरूलाई समाजले “अर्को” भनेर पन्छाइरहेको छ । आखिर यो किन ?
महिनावारीमा महिलाप्रति अपहेला
महिनावारी महिला जीवनको स्वाभाविक प्रक्रिया हो । यस समयमा महिलाहरू शारीरिक र मानसिक रूपमा संवेदनशील हुन्छन् । यिनलाई समर्थन र बुझाइ चाहिन्छ । तर हाम्रो समाजमा यसै बेलाउनीहरूलाई रसोई, मठ–मन्दिर वा सामाजिक स्थानबाट टाढा राखिन्छ। उनीहरूको भावनालाई बुझ्ने सट्टा, हामीउनीहरूलाई बेवास्ता गर्छौं । यो प्राकृतिक कुरा हो, तर व्यवहार किन अपमानजनक ? आखिर किन ?
विधवा महिलाको पीडा
जब कुनै महिला विधवा बन्छिन्, उनको जीवनमा दुःखको नयाँ अध्याय सुरु हुन्छ । सहारा चाहिने समयमा उनीहरू आफन्तबाटै अपहेलित हुन्छन् । “विधवा”भन्ने शब्द नै समाजले उनीमाथि बोझको रूपमा थोपर्छ । घर–परिवार र समाजले मानसिक दबाब दिन्छ, आरोप लगाउँछ, सपना चकनाचुर पार्छ । कानुनले महिला–पुरुष समानताको कुरा गर्छ, तर व्यवहारमा त्यो देखिँदैन । के यो समानता लागू भएको छ ?
नारीको असुरक्षा र राज्यको मौनता
ज्ञान र प्रविधिको युगमा पनि महिला अझै असुरक्षित महसुस गर्छन् । सार्वजनिक स्थानमा हिंड्दा उनीहरूले सयपटक सोच्नुपर्छ । बलात्कारका घटनाहरू बारम्बार हुन्छन्, पीडितले न्याय पाउँदैनन् । निर्मला पन्त प्रकरण आज पनि हाम्रो चेतनामा प्रश्न बनेर बाँकी छ । न्याय खै ? राज्य खै ? प्रहरी प्रशासन खै ?
स्तनपानमा सामाजिक असहजता
सार्वजनिक स्थानमा स्तनपान गराउँदा महिलालाई अझै असहज वातावरण सिर्जना गरिन्छ । खराब नियत भएका व्यक्तिको दृष्टिले मातृत्वलाई पनि अपमानित बनाइन्छ । स्तनपान बच्चाको अधिकार हो, तर हाम्रो समाजले यसलाई खुला रूपमा स्वीकार गर्न अझै हिचकिचाउँछ । कार्यलय, गाडी, सार्वजनिक स्थल कतै पनि स्तनपान कक्ष छैनन् । यो राज्य र समाज दुवैको कमजोरी हो ।
किशोरावस्थाको प्रेम र समाजको दृष्टि
किशोरावस्थामा विपरीत लिङ्गीप्रति आकर्षण हुनु स्वाभाविक प्रक्रिया हो । यो मानवीय विकाससँग जोडिएको वैज्ञानिक तथ्य हो । तर हाम्रो समाजले यसलाई गलत नजरले हेर्छ । किशोर–किशोरीले आफ्नो भावना परिवारसँग बाँड्न नपाउँदामानसिकदबाब, आत्महत्या, अविश्वास जस्ता गम्भीर परिणाम देखिन्छन् । प्रेमलाई बिग्रिएको होइन, बुझ्नुपर्ने भावनात्मक यात्रा भनेर समाजले हेर्नुपर्छ ।
निष्कर्षः प्रश्न मात्र होइन, उत्तर पनि खोज्नुपर्छ
यी सबै प्रश्नहरू झुटो प्रेमदेखि महिनावारी, विधवा पीडा, तेस्रो लिङ्गी अधिकार, स्तनपानदेखि किशोर प्रेमसम्म एउटै तर्कमा जोडिन्छन् । समाजमा धेरै कुरा प्राकृतिक र मानवीय छन्, तर हाम्रा दृष्टिकोण, संस्कार र व्यवहारले तिनलाई गलत रूपमा चित्रण गर्छ । अब प्रश्न मात्र होइन, उत्तर पनि खोज्नु पर्छ । चेतना र शिक्षामा सुधार, कानुनी कार्यान्वयन, परिवार र समाजबीच खुलेर संवाद, र प्रत्येक व्यक्तिप्रति मानवीय दृष्टि आवश्यक छ । तबमात्र “आखिर यो किन?” भन्ने प्रश्नको उत्तर पाउन थालिन्छ । लेखक : ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, हाल काठमाडौँ निवासी हुन् ।)