“ॐ गुरु ब्रम्हा गुरु बिष्णु गुरुदेव महेश्वर
गुरु साक्षात् परम ब्रह्मा तस्मै श्री गुरुवे नम”
“विद्यादानम सर्ब दानम प्रधानम”
माथि संस्कृतमा लेखिएका दिव्यसुक्तिहरु सम्झिदा सायद सबैको तन, मन र मष्तिस्कबाट नै शिक्षक बन्न ओतप्रोत हुन्छ्र । गुरुको स्थान अग्र छ अनि गुरु सबैको नजरमा सम्मानित, सुशोभितरपूज्य छन् किनकि गुरु भनेका मैनबती हुन् जो आफु बलेर अरुलाई उज्यालो दिने गर्छन ।
यस्तो पबित्र पेशामा आबद्द हुन् जो कोहीको भाग्यमा मसिका थोपाहरु खर्च गरिएको हुँदैन अनि पितृ पूर्खाहरुले गरेको महान त्याग, आशीर्वाद र पुण्य कामबाट नै उसका सन्ततीहरु यस्तो पवित्र अनि सेवाको कार्यमा संलग्न हुन सुनौलो मौका पाउँछन् ।
हिजोका दिनहरुमा गुरुकुल शिक्षा प्रणाली अस्थित्वमा थियो अनि गुरुको घरमा गएर, चौतारीमा बसेर, मठ मन्दिरमा बसेर, फलैचा अनि बगैचामा बसेर तथा कुटी अनि खुला चौरमा बसेर गुरुलाई प्रशन्न बनाएर उहाहरुका दिव्य महावाणी, मन्त्र, परमपरा अनि अनुशासन र गुरुका जिबन भोगाईका प्रखर अनि उपदेशात्मक मौखिक कुराहरु श्रवण गर्नु, मनन गर्नु, व्यवहारमा उतार्नु नै बास्तविक रुपमा शिक्षा थियो ।
नीति नियम, धर्म, कानुन, भजन, किर्तन, अनुशासन, दिल शुद्दी अनि ब्रम्हाचार्य, गृहस्थ, बानस्प्रस्थ र सन्यास अवस्थाका दिव्य वाणीहरु, भोगाईहरु र अनुभूतिहरु ती महान गुरुहरुको मुखारविन्दबाट कर्ण भोजन हुन्थ्यो अनि हुँ बहुकण्ठस्थ बनाउने अनि त्यहि कुरालाई व्यवहारमा उतार्ने व्यक्ति नै सच्चाभक्त अनि चेला बनेर अष्ठ कलसबाट विभूषित गरि आजको दिक्ष्यान्त समारोह झैँ प्रमाणित गर्ने परिपाटी थियो ।
देवताका गुरु अश्विनी कुमार, दानबका गुरु शुक्राचार्य, अर्जुनका द्रोणाचार्य, रामका बशिष्ठ, कृष्णका सान्दिपनी, अलेक्जेण्डरका सुकरात, सुकरातका प्लेटो, प्लेटोका अरिस्टोटल अनि अरिस्टोटलका गुरु सिकन्दर थिए ।
यसरी धेरै गुरुहरुले पौराणिक कालमा ठूलो सम्मान पाएका थिए अनि सबै चिज त्यागेर आफ्ना शिष्यहरुका खातिर लोभ, मोह, घर गृहस्थी सम्पूर्ण त्यागेर आफुलाई समर्पण गरेका कुराहरु आज हामी बिभिन्न धार्मिक अनुष्ठान र इतिहासबाट सुन्न पाउछौ ।
त्यति बेला गुरुको महत्व धेरै नै थियो किनकि त्यति बेला ज्ञानको एक मात्र स्रोत भनेको मात्र गुरुहरु थिए । गुरु पुर्णिमाको दिन प्रसिद्द गुरु बेदब्यासको पुजा गर्न थाल्यो अनि बिस्तारै आफ्ना गुरुहरुको सम्मान गर्ने, सम्झिने, उपहार दिने मेवा मिष्ठान्न भोजन गराउने जस्ता सुकार्यहरु गर्न थालियो । शिष्यहरुमा ध्यान, अनुशासन, मेहनत अनि आशक्ति तथा ज्ञान प्रतिको अनुराग अलि बढी नै थियो ।
गुरुको योग्यतासँग क्षमता गाँसिएको थियो, गुरुको मानसम्मान अनि स्थान उच्च थियो यो कुरा माथिको संस्कृत वाक्यांशहरुबाट प्रष्ट हुन्छ । ईश्वर र गुरुसँगै उभिएको बेला शिष्यले पहिला गुरुलाई प्रणाम गर्थे । यो किनकी गुरुको सहि मार्गनिर्देशन र सहयोगले मात्र ईश्वरको दर्शन सम्भब भएको वास्तविकता छर्लङ्ग छ ।
जब मानिसहरुको सोँचमा परिवर्तन आयो, समयको परिवर्तन भयो, खोज अनि अनुसन्धान भए, शिक्षा विज्ञान, प्रविधि सूचना तथा सञ्चारमा आमुल परिवर्तन भयो, सेलरोटि नदेख्न तर त्यहाँ भित्रको गोलो भाग मात्र देख्ने अनि सूर्य पनि पृथ्वीमा छाँया पार्न मात्र उदाउँछ भन्ने जस्ता नकारात्मक कुराहरुले प्रशय पाउन थाले ।
ज्ञानका स्रोतहरु अलि फराकिला भए, लिपिको विकास हुँदै पुस्तक र अहिले त सूचना तथा सञ्चार प्रणालीमार्फत शिक्षण सिकाइ क्रियाकलाप सहज हुन थाल्यो अनि यसले गुरुको अथवा शिक्षकको अभावको महशुस कम गरि दियो यहिबाट गुरुको मानमर्दनको सुरुवात भयो ।
जब बहुदलीय शासन प्रणाली आयो त्यस पछाडि शिक्षकहरुलाई विभिन्न पार्टीको भातृ संगठनमा आबद्द हुन् बाध्य बनाएर, फुटाएर, बझाएर एक अर्काको दुस्मन बनाएर शासन गर्ने पद्दति सँगै गुरुको तर्कुले लक्कानोतिर लागेको हो । यस्तो कार्यमा हामी शिक्षकहरु नै सानो स्वार्थ च्यापेर, क्षणिक फाइदाको खोल ओढेर चम्चे, हुक्के, बैठके, सारथी, नन्दी, भिरिंगी, भुत, प्रेत, स्मशान, पिसाच, चतुर्थ योगिनी प्रमथ गण भएर लागि परेका छौ अनि सहि सलामद कुरालाई ढाकछोप गरी छद्म कुरा ओकल्न बानी परेका छौ ।
हामी शिक्षकहरु नै अनुहारको झिंगाको रिसमा आफ्नो अनुहार काटी रहेका छौ । आकाशतिर थुकी रहेका छौ अनि अनुहारको धुलो पुछ्ने बहानामा ऐना पुछिरहेका छौ । सायद हामी केहि शिक्षकहरु कमजोर भयौ होला, आफुलाई अध्यावधिक बनाउन सकेनौ होला, उमेर र स्वास्थ्यले साथ दिएन होला, थोरै लापरबाही पनि गरौ होला, अखाध्य पदार्थ सेवन पनि ग¥यो मर्यादाको लक्षमण रेखा नाघ्यौ होला, अनुकरणीय व्यक्ति बन्न सकेनौ होला तर संस्थागत आरोप अनि अपहेलना र तिरस्कार सहन बाध्य भएका छौ ।
देशलाई चाहिने अब्बल अनि उच्च पदस्थ व्यक्तिको सिर्जना हिजो हामी शिक्षक बाटै भएको हो । राजनीतिज्ञ, कलाकर्मी, शिक्षक, प्रशासक, डाक्टर, पाइलट, इन्जिनियर, वकिल, अन्वेषक, आबिस्कारक, अध्येता, बैज्ञानिक, सामाजिक कार्यकर्ताजस्ता बहुआयामिक व्यक्तित्वहरुका सर्जक अनि निर्माण कर्ता एकमात्र शिक्षक हुन्, बाटो देखाउने अनि दुर दृष्टि गोचर गराउने यिनै जलेका ठुटा मैनबती हुन्, भलै उहाँहरुको लगानी, मेहनत पर्यो होला तर पथ प्रदर्शक नितान्त शिक्षक हुन् यसमा दुई मत अनि सन्देह कदापि छैन ।
महान व्यक्ति उत्पादन गरि रहँदा शिक्षकको धेरै मेहनत, श्रम, थकान अनि सिप र सिर्जनाका पुन्जहरु कुर्बानी गरेका छन् तर आज उनीहरु नै थोरै पारिश्रमिक ठूलो संघर्ष, त्याग, संकल्प, झेल्न बाध्य छन् भने उता तिरस्कार, अपमान, लज्जा बोध, हीनताबोध, मानसिक दबाब, अपजस, हेय अनि घृणाका पात्र बनि रहेका छन् ।
उनीहरुको भलाइ, सेवाको कदर, सम्मान अनि तारिफ कहिँ कतै पनि छैन । हरेक कार्यक्रमको उद्घाटन, प्रमुख अतिथी, रिबन कटाई, आसन ग्रहण र अतिथि सत्कारमा ती मन्दिरका देवतारुपी शिक्षकको कतै नामो निशान छैन । देशका उम्दा सेलिब्रेटीहरु कि त खेलाडी, नेता अभिनेता, गायक संगीत कार भए कुनै शिक्षक सेलिब्रेटी भएको उदाहरण छ त ?
शिक्षकको नाम, दाम, भाग्य, भविष्य, सेवा सुनिश्चितता, आदिको बारेमा निर्णायक तहमा पुगेका अनि शिक्षकले हिजो सिगान पुछेका ती महान व्यक्तिहरु सिंगो शब्द बोलेका छैनन, वकिलहरुले वकालत गरेका छन् त ?
कहाँ छन् ती एकलब्यहरु अनि अर्जुनहरु किन मैनबती निभाउन मात्र उद्दत छन् के बिजुली बल्दैमा हिजोका टुकी अनि मैनबतीहरु पूर्ण रुपमा विस्थापित भएकै हुन् त ?
माकुराका बच्चाहरुले माउ खाएकै हुन् त ? बुढो माझी अनि पुरानो डुंगालाई पानी जहाजले छायामा पारेकै हो यदि त्यसो भए ’वल्ड इज गोल्ड ’ किन अस्तित्वमा रहयो अनि आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको किन उखानको रुपमा जीवित रहिरहेको हो ?
हिजोका अबोध, अपरिपक्व शारीरिक बनोट अनि लुला हातहरु समाई समाई, नाकमा कट कटीएका सिगानका पाप्राहरू उक्काइ दिदै आँखाका कचेराहरु पुछी दिदै अनि प्यारले सुम्सुम्याउदै ‘कखरा’ सिकाएको अनि अहिले सर्बोच्च हैसियत बनाएका ती जनशक्तिहरु आखिर निकम्मानै ठहरिए ?
आज शैक्षिक उपलब्धि उकास्ने निहुमा बेदेशिको करोडौ रकम चपाएर ढुस्स पेट फुल्दैमा, राज्यको ढुकुटी रित्तो बनाएर अकुत सम्पति कमाउदैमा, घुम्ने कुर्सीमा विराजमान हँुदैमा, चिल्लो गाडीमा चिप्लो सडकमा सयर गर्दैमा अनि स्टार होटेलको चौरासी व्यंजन भोजनगरेर, बदेलको सुकुटी दातमा अड्किदा सुनको सिन्काले कोट्याउने हैसियत बनाउदैमा हिजोको यथार्थ यति चाडै विर्सनेहरुको नियति देख्दा सायद हामी तमाम शिक्षकहरुले ठुला मान्छेहरु बनाएछौ तर असल मान्छे बनाउन सकेनछौ, गल्ति हामीबाटै भएको रहेछ अब हामीहरु सच्चिनुपर्ने रहेछ, विश्वभरमा शैक्षिक खेती गर्ने हामी तमाम शिक्षकहरुले त विश्व परिदृष्यमा सबैको भलो कल्याण र सहअस्तित्वमा बाच्ने र बचाउने गौतम बुद्ध, अनुराधा कोइराला, महात्मा गान्धी, मार्टिन लुथर किंग, फ्लोरेन्स नाइटिङ्गेल, बिथोबिन, क्लारा जेट्किन, जोन रक्फेलर, नेल्सन मण्डेला, पाब्लो पिक्कासो, भ्यानगग, रोजा लजेम्बर्ग, माइकल एन्जेलोहरु बनाउन सकेनछौ ।
शक्ति, सामथ्र्य, बम गोला बारुद, उन्माद र सन्किमा आफुलाई घुलाउने च्याङकाइसेक, हिटलर, मुसोलिनी, इब्राहिम दाउद, इदीअमिन, फ्रान्को, विश्मार्क, पोल्पोट, ओसामा बिन लादेन, लस्करेतैबाहरु हुर्किने र मौलाउने वातावरणमा अल्मलिएछौ । गल्ती हाम्रै थियो अब हिजोहरु विर्सेर भोलि सम्झिदै महान अनि असल व्यक्ति बनाउन फेरि ओभर टायम काम गर्नुपर्ने भएको छ ।
हिजोका पुस्ताले होइन, भोलिका पिँढीले पनि हैन अब तपाइँ हामीले नै यो काम गर्न आवश्यक छ । अर्ध मुर्छित हाम्रो जागर अनि मष्तिस्क ब्युँझाउन, दिमागको धुलो टक टकियाउन, फेरि एक पटक हातेमालो गरेर शैक्षिक श्रमका पसिनाहरु रुखो माटोमा पोख्न आवश्यक छ ।
उर्बर जमिनमा उन्नत बीउ छर्नु र गोड्मेल गर्न आवश्यक छ । हामीले अनुशासन अनि शिष्टता तथा संस्कार सिकाउन बिर्सिएछौ, सैद्दान्तिक पाठ्यक्रममा अल्झेर व्यवहारिक ज्ञान सिप, नैतिकता अनुशासन, कर्तव्य अनि जिम्मेवारीको पाठ बाँझै पो छोडेछौ, क्रिश्मस अनि भ्यालेन्टाइन डे, रक अनि ज्याज संगीत र क्याटवाक तिर आकर्षण गर्ने पश्चिमा संस्कार अनि शैली सिकाउन अनि त्यसैमा रम्न उक्साएछौ ।
एकतोला सुन खोज्न लाखौ टन माटो फ्याक्नु पर्दा, माटो बढि भए पनि ध्यान सुनमा हुनुपर्छ भन्ने सिकाउन भुलेछौ अनि कहाँबाट बन्छ देशको संस्कारको विकास अनि कहाँबाट जन्मन्छन त ती श्रवणकुमारहरु अनि एकलब्यहरु ?
कोदो रोपेर धान उत्पादन गर्न खोज्नु हाम्रै कमजोरी हो, धर्म, संस्कार, भाषाको सहायताले उपनिवेश निम्त्याउने सैद्धान्तिक शिक्षा लाद्ने हाम्रै भुल थियो अनि यसैमा चित्त बुझाउनु हाम्रो नै कमजोरी थियो ।
धेरै जिपिए ल्याएको कागजी खोस्टोलाई प्रमुख ठान्दै, व्यवहारिक ज्ञान र क्षमतालाई गौण मानी कुनातिर मिल्काइ दिएछौ । हामीले अबका दिनहरुमा आफ्नो माटो, स्वाधिनता, भूगोल, नैतिकता जिम्मेवारी, कर्तव्य संस्कार सिकाउन अब कन्जुस्याइँ किमार्थ गर्नु हुँदैन ।
(लेखक : खत्री शिक्षण पेशामा आवद्ध छन् ।)