पूर्खाहरु भन्थे
लेखेर खान्छ भन्थे बाघले
देखेर खान्छ भन्थे भालुले
टेकेर खान्छ भन्थे सर्पले
व्वासाले,
चर्दै र हिड्दै गरेको
गाई–भैसी
हिड्दा थाकेर बिसाएका–वस्तुभाउ
कन्याउँछ, सुम्सुम्याउँछ
माया गर्छ, मालिस गर्छ
मस्त निदाउँदा, बस्तुहरु
अनि निकाल्छ मुटु कलेजो
अनि थाहा हुन्छ
के गर्नु थाहा पाएर
हगिसक्यो दैलो देख्यो भने झैँ
सकिन्छ जीवन
बाघ, भालु र सर्पसंग
जोगिन सकिन्छ
हाम्रा पूर्खाहरु नै हुन
बाघ, भालु र सर्पलाई
रत्याएर, खेलाएर पैसा कमाउने
जोगिन गाह्रो त
ति संग हुँदो रहेछ
जो व्वासाले झैँ
सुम्सुम्याएर,
मिठा कुरा गरेर
चिप्ला भाषण गरेर
थाहै नपाई
मुटु कलेजो निकाल्ने
शासकहरुसंग ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा, खोटाङ